गौडेल पक्षका पदाधिकारीको उम्मेदवारी घोषणा, काे काे छन्, हेर्नुहाेस् ?

बाँके जिल्लामा नेपाली कांग्रेसको यही पुष २७ गते निर्वाचन हुन लागेको छ । सो निर्वाचनको लागि संस्थापक र संस्थापक इतर प्रक्षले आफ्ना प्यानलहरु उम्मेदवारीहरु घोषणा गर्ने लिगिरहेका छन् । आज संस्थापक इतर पक्षले आफ्नो प्यानलको उम्मेदवारी घोषणा गरेको छ ।

संस्थापक इतर पक्षका सभापतिमा नारायण प्रसाद गौडेलले उम्मेदवारी दिएका छन् । उप–सभापतिमा गोपाल अधिकारी र राजकुमार मौर्य, सचिवमा सुधांशु कोइराला र टंकप्रसाद काफ्ले ‘आशिष’ तथा सह–सचिवमा विश्वराज लम्साल र रेणु सिंह रहेका छन् । गौडेल प्यानलका प्रचार प्रसार समिति संयोजक समेत रहेका लुम्बिनी प्रदेश कार्यसमिति सदस्य टेकनारायण भुषालले उम्मेदवारहरुको नाम सार्वजनिक गरेका हुन् ।

यस्तै संस्थापन इतर पक्षको उम्मेदवार घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पदका उम्मेदवार गौडेलले आफ्नो प्यानल निर्वाचित भएपछि जिल्लाभरी छरिएर रहेका द्धन्द्ध पीडितलाई कांग्रेसमा जोड्ने बताए । आफ्नो प्यानल निर्वाचित भएपछि पार्टीसँग किसान, तरुण, विद्यार्थी, ब्यापारी, मजदुर, सबैको प्रतिनिधित्व हुने दाबी गरे ।

‘सबैको दुःख पीडालाई बुझेर हामी काम गर्नेछौं, स्थानीय तथा केन्द्रिय निर्वाचनमा बाँके जिल्लाको तीनै क्षेत्रमा कांग्रेसको चारतारे झण्डा फरफराउनेछौं,’ उनले भने । कांग्रेसभित्र घात–अन्तरघात गर्ने कसैलाई पनि आफुले बाँकी नराख्ने र पहिलो निर्णयबाटै अनुशासन समिति बनाउने प्रतिवद्धता जनाए ।

सो घोषणा कार्यक्रममा कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री सुरेन्द्रराज आचार्य प्रमुख र कांग्रेस बाँकेका सभापति किरण कोइराला विशिष्ट अतिथी थिइन् । कार्यक्रममा कांग्रेस बाँकेका सचिव तप्त पौडेल, क्षेत्र नम्बर १ का सभापति पोषण केसी, संविधान सभा सदस्य अब्दुल हमिद सिद्धिकी, नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख उमा थापामगर लगायत उपस्थित भएका थिए । बाँकेमा अहिलेसम्म पनि संस्थापक पक्षले भने आफ्ना उम्मेदवारहरु घोषणा गर्न सकेका छैन ।