सांघातिक आक्रमण गर्ने चार जना सार्वजनिक

नेपालगञ्ज ।

बाँके प्रहरीले नेपालगञ्जमा तरुण दलका युवाहरुमाथि भएको सांघातिक आक्रमणमा संलग्नहरुलाई पक्राउ गरी सोमवार सार्वजनिक गरेको छ । प्रहरीले आज पत्रकार सम्मेलन गरेर उनीहरूलाई सार्वजनिक गरेको हो ।

आइतवार दिउँसो नेपालगञ्ज ४ गणेशपुरमा तरुण दल नेपालगञ्जका सदस्य नेपालगञ्ज १२ का अनुराग शाह, जानकी ३ का उज्ज्वल शाह र नेपालगञ्ज ४ निवासी शुभमजंग शाहलाई खुकुरी प्रहार गरी सख्त घाइते बनाउने नेपालगञ्ज १८ का २९ वर्षीय विनय भण्डारीसहित ४जना पक्राउ परेका हुन् ।

बाँके प्रहरी प्रबक्ता एवम् प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्ती मगरले चारै जनालाई आइतवारनै डुडुवाबाट पक्राउ गरिएको बताए । घटनामा प्रयोग भएको एउटा भारतीय कार र दुई थान खुकुरी पनि प्रहरीले बरामद गरेको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको घर्तीले बताए । घाइतेहरुको लखनऊमा उपचार भइरहेको छ । घाइतेमध्ये अनुरागको अवस्था गम्भीर छ । तरुण दलले आइतवार विज्ञप्ती निकालेर घटना संलग्नलाई तत्काल पकाउ गरी कडा कारवाही गर्न माग गरेको थियो ।

बाँके सचिव विनोद रिजाल, नेपालगञ्ज सभापति सन्दिपजंग शाह र खजुरा सभापति कोमलराजसिंह ठकुरीले संयुक्त विज्ञप्ती निकालेका हुन् ।