कञ्चनपुरको वेदकोटमा गाडिएको अवस्थामा भेटिए चौपाया




धनगढी । कञ्चनपुरको वेदकोट नगरपालिकामा व्यवस्थापनको माग गर्दै स्थानीय महिलाहरु आन्दोलित भएका बेला केही पशुचौपाया खाडलमा गाडिएको अवस्थामा भेटिएका छन् । वेदकोट नगरपालिका–३ को चोरपानी नजिकै खाडलमा गाडेको अवस्थामा करीब आधा दर्जन पशु चौपाया स्थानीयले डोजरको प्रयोग गरेर निकालेका हुन् ।

तर ती गाई गोरु खाडल गाडेर कसले गाडेको हो भन्ने कुरा खुलेको छैन । स्थानीयले भने नगरपालिका कार्यालयले हत्या गरेर रातारात पशुचौपाया गाडेको आरोप लगाएका छन् ।

व्यवस्थापनको माग गर्दै स्थानीयले आइतबार र सोमबार नगरपालिका कार्यालयमा ल्याएर पशुचौपाया थुनेपछि राति ट्रकमा वडा नम्बर ६ को मुसेपानीमा स्थापना गरिएको गौशालामा लगेर राखिएको मेयर भोजराज बोहराले बताए ।

उनले सोमबार राति १५३ पशुचौपायालाई गौशालामा पुर्‍याइएको बताउदै खाडलमा गाडिएको अवस्थामा भेटिएको बारेमा आफूलाई कुनै जानकारी नभएको प्रतिक्रिया दिए । तर मंगलबार बिहान गौशालामा राखिएका १५३ र यसअघि व्यवस्थापन गरिएका करीब अढाई सय गाईगोरु समेतलाई अज्ञात समूहले गौशालाबाट निकालिदिएपछि समस्या भएको उनको दाबी छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले गाईगोरु खाडलमा गाडिएको अवस्थामा भेटिएको सामाजिक सञ्जालबाट थाहा पाएको बताए । तर कानूनी कारवाहीका लागि कुनै व्यक्ति वा पक्ष जिल्ला प्रहरी कार्यालयसम्म नपुगेको बताए ।

अनलाइनखबरबाट साभार

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर २० गते मंगलबार