हरियाली र सौन्दर्य प्रवर्द्धन गर्ने नगरपालिका र समितिबिच सम्झौता

कोहलपुर  ।

हरियाली र सौन्दर्य प्रवर्द्धन गर्ने काेहलपुर नगरपालिका र समितिबिच सम्झौता गरेकाे छ । मंगलबार कोहलपुर नगरपालिका नगर  प्रमुख पुर्ण प्रसाद आचार्य र राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिका कार्यकारी सदस्य भेषराज आचार्य विच सम्झाैता भएकाे हाे ।

‘राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको “जनताको रहर हरित सहर” कार्यक्रम अन्तर्गत कोहलपुरमा सडक हरियाली र सौन्दर्य प्रवर्द्धनका लागि समितीसँग सम्झौता गरेका छाैं,’ नगरपालिकाका नगर प्रमुख पुर्ण प्रसाद आचार्यले भने, ‘कोहलपुर-नेपालगन्ज सडकखण्डको साझा चोकदेखि हाईस्कुलसम्मको सडक डिभाइडरमा रेलिङ्ग सहित बृक्षारोपण गरि सडक हरियाली र सौन्दर्य प्रवर्द्धन गरिनेछ ।’ त्यसका लागि राष्ट्रिय गौरवको आयोजना राष्ट्रपति चुरे-तराइ मधेस संरक्षण विकास समितीले कोहलपुर नगरपालिकालाई तीस लाख रुपैया सहयोग गर्ने कोहलपुर नगरपालिका नगर प्रमुख आचार्यले बताए ।

यस्तै सम्झौता हस्तान्तरण कार्यक्रममा बाेल्दै काेहलपुर नगरपालिकाका प्रशासकिय अधिकृत टिकाराम ढकालले उक्त रकम नपुगेकाे खण्डमा बाँकी अपुग रकम कोहलपुर नगरपालिका आफैले ब्यहोर्ने सहमति पनि भएको बताए । ‘सम्भाब्यता आकलन, निरीक्षण र स्थान छनौट प्रकृया पुरा गरी कार्यक्रम गर्ने सहमती बनेको हो, कार्यक्रम चालू आर्थिक वर्षबाटै कार्यान्वयनमा आउनेछ’ उनले भने ।

यस्तै  राष्ट्रपति चुरे-तराई मधेस संरक्षण विकास समितिका कार्यकारी सदस्य भेषराज आचार्यले जनताको रहर हरित सहर बनाउने अभियान अन्तर्गत नगरपालिकासँग सहकार्य गरेकाे बताए । सम्झौतापछि उत्साहित हुँदै समिती सदस्य भेषराजले भने-`मेयर सापको हरित नगर बनाउने अभियानमा जोडिन पाउँदा हामी खुसी छौँ । ´

यस्तै सम्झौता हस्तान्तरण कार्यक्रममा काेहलपुर नगरपालिका वडा नं. ८ का अध्यक्ष लाल बहादुर राना,  कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका प्रमुख भरत भट्ट र साइड इन्चार्ज सुरज थापा लगायतको सहभागीता रहेको थियो ।