कोहलपुरमा जिविकोपार्जन सुधार गर्न कुखुरा पालन तालिम

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा जिविकोपार्जन सुधार गर्न कुखुरा पालन तालिम दिइएको छ । कोहलपुर नगरपालिका-१३ सिम्रीका महिला दिदिबहिनीहरुलाई जिविकोपार्जन सुधार गर्न कुखुरा पालन तालिम दिइएको हो ।

कुखुरा विकास फार्मको आयोजनामा ‘एक दिन होइन हरेक दिन अण्डा र मासु भान्छाको सान सर्वोत्तम प्रोटिन स्वस्थ जीवन’ भन्ने मुल नारा सहित सो तालिम सञ्चालन भएको हो । कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यको प्रमुख अतिथिमा सो तालिममा गरिएको हो ।

तालिममा बोल्दै आचार्यले महिलादिदिबहिनीहरुलाई विभिन्न तालिमको माध्यमबाट जिविकोपार्जन सुधार गर्न अति आवश्यक भएको भन्दै कोहलपुरमा सबै वडाहरुमा तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । तालिममा आर्थिक रुपमा कमजोर रहेका विपन्न वर्गका २० जना महिलाहरुलाई कुखुरा पालन तालिम दिइएको थियो ।

यस्तै कुखुरा विकास फर्मका प्रबन्धक डाक्टर शंकर न्यौपानेले सुदुरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरुमा खाद्यन्न र पोषणको अभाव हुँदा केही न्यून गर्न सकियोस् भने हेतुका साथ जिविकोपार्जनसँग जोड्दै कार्यक्रम सञ्चालन गरेको बताए ।

कोहलपुर नगरपालिका वडा नम्बर १३ की सदस्य गोमा खनालले आर्थिक अवस्थामा पछि परेको समुदायका महिला दिदिबहिनीलाई कुखुरा पालन र अण्डा उत्पादनमा प्रेरित गर्दै तलिम सञ्चालन गरिएको बताईन ।

सो तालिममा प्रशिक्षक डाक्टर शंकर न्यौपाने र कर्मध्वज छत्याल र राजबहादुर बोगटिले रहेका छन् । १८ र १९ गतेसम्म तालिम चल्ने छ भने तालिम लिएपश्चात मात्र चल्ला वितरण गर्ने गोेमा खनालले जानकारी दिइन् ।

यस्तै कोहलपुर नगरपालिका वडा नं. १३ का अध्यक्ष डम्बर खड्का, टोल विकास समितिका पदाअधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।