मध्यपश्चिम विश्वविद्यालयको तेह्रौं सभाको बैठक सम्पन्न

काेहलपुर ।

मध्यपश्चिम विश्वविद्यालय (मपवि) को तेह्रौं सभाको बैठक बालुवाटार काठमाण्डौंमा सम्पन्न भएको छ । प्रधानमन्त्री एवं मध्यपश्चिम विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले सभाकाे उद्घाटन गरेका थिए । विश्वविद्यालयको तेह्रौं सभामा स्वागत मन्तव्य राख्दै विश्वविद्यालयको नीति तथा कार्यक्रम मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा. डा. नन्दबहादुर सिंहले प्रस्तुत गरेका थिए ।

यस्तै गत आव २०७८/०७९ को आम्दानी खर्च अनुमोदन प्रस्ताव; आव २०७९/०८० को प्रस्तावित बजेट रु. १ अरब ६ करोड ५७ लाख ८४ हजार सहितको कार्यक्रम सम्बन्धी प्रस्ताव: तथा मपवि आर्थिक–प्रशासनिक नियमावली संशोधन सम्बन्धी प्रस्ताव पारित भएकाे थियाे ।

साे सभामा अर्थमन्त्री जनार्दन शर्मा तथा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवन बहादुर शाहीले सम्बोधन गरेका थिए । (मपवि) का रजिष्ट्रार प्रा. डा. नारायण प्रसाद पौडेलले कार्यक्रमकाे सञ्चालन गरेका थिए ।

सभामा राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने सदस्य, त्रिभुवन विश्वविद्यालय र पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति, मपवि सेवा आयोगका अध्यक्ष तथा सदस्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव लगायतकाे उपस्थिति रहेको थियो ।