रौतहटको गौरमा एकै परिवारका ३ बालबालिकाको मृत्यु

गौर ।
रौतहटको गौरमा बुधबार राति आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुने बालबालिका एकै परिवारको रहेको प्रहरीले जनाएको छ ।

बुधबार राति गौर नपा १ मेनरोडस्थित इस्लाम अन्सारीको सिरक डसना पसलमा आगलागी हुँदा तीन जना बालबालिकाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

त्यस्तै आगलागीबाट लगभग ४० लाख मूल्य बराबरको मालसामान जलेर नष्ट भएको जनाइएको छ ।

अन्सारीको पसलसँगै घरमा अचानक आगलागी हुँदा घरमा सुतिरहेको अवस्थामा ९ वर्षीया छोरी रोक्साना खातुन, ७ वर्षीय छोरा ईमरान मन्सुरी र ५ वर्षीया छोरी सबाना खातुनको मृत्यु भएको प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताउनुभयो ।

आगलागीमा परेर रसुल मियाँकी २४ वर्षीया छोरी नसिम खातुन, २५ वर्षीय मोहम्मद इसराइल र ८ वर्षीय मोहम्मद ईमरान घाइते भएको तथा उनीहरुको प्रादेशिक अस्पताल गौरमा उपचार भइइरहेको उहाँले जानकारी दिनुभयो ।

आगलागीबाट घर टहरा, पसलका सिरक, डसना, कपडा गरी २० लाखको क्षति भएको तथा जाकिर आलमको मोटरसाइकल ग्यारेजमा २० वटा मोटरसाइकल जलेर लगभग ४० लाखको क्षति भएको पीडितहरुले जनाएका छन् ।

गौर नपाको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयवासीहरुको सहयोगमा २ घण्टापछि आगलागी नियन्त्रणमा आएको र आगलागीको कारण खुल्न नसकेको घटनाबारे छानबिन भइरहेको प्रहरी उपरीक्षक बुढामगरले जानकारी दिनुभयो ।