मेरा लागि फूलमाला, अबीर, खादा केही पनि नल्याउनुहोला

उनी चितवन-२ बाट अत्यधिक मतान्तरले प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। उनले ४९ हजार २६४ मत पाए भने प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १४ हजार ९८३ मत पाए।

निर्वाचित भएपछि सामाजिक सञ्जाल मार्फत आफ्नो भनाइ राख्दै लामिछानेले विजय र्‍यालीको सट्टा धन्यवाद सभा आयोजना गर्ने जनाएका छन्। “राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो,” लामिछानेले भनेका छन्, “म आजबाट जाँच दिन जाँदै छु, जसको नतीजा पाँच वर्षपछि मात्र आउँछ। म जनतालाई जिताउने जाँच दिन जाँदै छु, त्यसैले म अहिले नै विजय र्‍याली गर्न चाहन्नँ।”

उनले विजय र्‍यालीको सट्टा आफ्नो क्षेत्रका विभिन्न स्थानमा धन्यवाद सभा आयोजना गर्ने भएका छन्। त्यहाँ पनि आफ्ना लागि फूल नल्याउन आग्रह गरेका छन्। “धन्यवाद सभा गर्दै छु। एउटा अनुरोध, कृपया त्यहाँ आउँदा मेरा लागि फूल, माला, अबीर, खादा केही पनि नल्याउनुहोला।”

रवि लामिछानेको वक्तव्य:

राजनीतिमा निर्वाचित हुनु भनेको विजयी हुनु होइन। यो त जाँच दिन जानका लागि सक्षम हुनु मात्र हो। म आजबाट जाँच दिन जाँदै छु, जसको नतीजा पाँच वर्षपछि मात्र आउँछ।

म जनतालाई जिताउने जाँच दिन जाँदै छु, त्यसैले म अहिले नै विजय र्‍याली गर्न चाहन्नँ। म विजय र्‍यालीको साटो आज ३ बजे, भरतपुर–१०, गेस्टहाउस चौरमा, भोलि ११ बजे इच्छाकामना गाउँपालिका कार्यालय अगाडिको फूटबल ग्राउन्ड कुरिनटारमा र भोलि ३ बजे शहीद स्मृति क्याम्पस चौर पदमापुर कालिकामा ‘धन्यवाद सभा’ गर्दै छु। एउटा अनुरोध, कृपया त्यहाँ आउँदा मेरा लागि फूलमाला, अबीर, खादा केही पनि नल्याउनुहोला।

म आजबाटै काम थाल्दै छु। मेरो सभा हुने ठाउँहरूमा दुई वटा बाकस हुनेछन्। एउटा बाकसमा ‘समस्या पेटिका’ लेखिएको हुनेछ। त्यसमा तपाईंका समस्या लेखेर खसाउनुहोला। अर्को बाकसमा ‘उजुरी, समस्या, सुझाव पेटिका’ लेखिएको हुनेछ। त्यसमा भ्रष्टाचारीका सूचना, मैले गर्नुपर्ने काम, मलाई खबरदारी लेखेर खसाउनुहोला। माला, अबीर, खादामा हामीले गरेको खर्च प्रायः सबै विदेश जान्छ। केही ल्याउनै मन भए आफ्नै आँगन वा बाटोको एक थुँगो फूल भए मलाई पुग्छ।

म छिटोभन्दा छिटो काममा लाग्न चाहन्छु। भोट माग्न, र्‍याली गर्न आउन नभ्याएका ठाउँमा म काम गर्न आउँछु।