वन्यजन्तु मार्न हातहतियार राखेको आरोपमा तिन जना पक्राउ

गुलरिया ।
वन्यजन्तु मार्न हातहतियार राखेको आरोपमा ३ जना पक्राउ परेका छन्।
बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती बाँसगढी नगरपालिकाको राँझा क्षेत्रमा वन्यजन्तु मार्न हातहतियार राखेको आरोपमा उनीहरू पक्राउ परेका हुन्।

बर्दिया राष्ट्रिय निकुञ्ज र नेपाल प्रहरीको संयुक्त टोलीले तीन थान भरुवा बन्दुकसहित पक्राउ गरेको जनाएको छ।

गस्ती टोलीले बाँसगढी नगरपालिका-२ निवासी ६० वर्षीय प्रेमबहादुर मल्लको साथबाट भरुवा बन्दुक १ थान, नाल १ थान, अन्दाजी २० ग्राम सिसाको छर्रा २ थान, रतुवाको जस्तो देखिने खुर १ थान, सोही स्थानका ५३ वर्षीय रतनबहादुर रानामगरको साथबाट भरुवा बन्दुक १ थान, सुतली पटाका ७ थान, ५२ वर्षीया लालमायाँ पुनमगरको साथबाट भरुवा बन्दुक १ थान बरामद गरेको हो।

निकुञ्जको मध्यवर्ती क्षेत्रहरूमा शिकारमा संलग्न रहेको भन्ने गोप्य सूचनाका आधारमा हातहतियार लगायत त्यसमा प्रयोग गरिने सामग्री र ओखेटोपहारसहित तीन जनालाई शुक्रबार नियन्त्रणमा लिएको प्रमुख संरक्षण अधिकृत अशोक भण्डारीले बताए।

हातहतियारसहित नियन्त्रणमा लिइएकासँग अनुसन्धान गरिरहेको उनले बताए। तीनै जना बर्दिया राष्ट्रिय निकुञ्जको हिरासतमा छन्।