मनसुनी प्रणाली नेपालबाट बाहिरिएसँगै मौसम सफा भए पनि चिसो भने दैनिक रूपमा बढ्दै गएको जल तथा मौसम विज्ञान विभागको तथ्याङ्क छ । यो साता मुस्ताङको तापक्रम माइनस १ डिग्री सेल्सियस मापन भयो । यता काठमाडौँ उपत्यकाको तापक्रम पनि घटेर ११.४ डिग्री सेल्सियसमा झरेको छ । दुई साताकै अन्तरमा तापक्रम ३ डिग्री सेल्सियससम्म अन्तर भएपछि चिसो दैनिक रूपमा बढ्दै जाँदा जनजीवन प्रभावित बन्न थालेको छ ।
यो साताको अधिकतम तापक्रम सिराहामा ३२.५ डिग्री सेल्सियस रहेको विभागको तथ्याङ्क छ । विभागले २३९ वटा वर्षा मापन केन्द्रहरूबाट दैनिक रूपमा वर्षाको मापन गर्दै आएको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसम विद् वरुण पौडेलले बताउनुभयो । प्रत्येक दिन वर्षासँगै तापक्रमसँगै पनि मापन गरी पूर्वानुमान गर्दै आएको उहाँले बताउनुभयो ।
पश्चिमी वायुको प्रभावका कारण केही दिनदेखि निरन्तर तापक्रम घट्दै गएकाले चिसो बढेको छ। तापक्रम पनि क्रमशः घट्दै गएकाले बढी चिसो महसुस हुन थालेको छ । जाडो याम सुरु भइसकेकाले न्यूनतम तापक्रम निरन्तर घट्नुका साथै चिसो बढ्ने मौसमविद्ले जनाएको छ । सामान्यतः डिसेम्बरदेखि फेब्रुअरीसम्म जाडो याम मानिन्छ । निरन्तर चिसो बढेकाले सतर्कता अपनाउन चिकित्सकहरूले सुझाव दिएका छन्। विशेष गरी बालबालिका र वृद्ध वृद्धाको खानपान र लगाउने कपडाहरूमा विशेष ध्यान पुर्याउनु सुझाव दिएको छ।
जल तथा मौसम विज्ञान विभागले हाल खडेरी, बाढी, पहिरो, शीत लहर, लु (तातो हावा) आदि मौसम तथा जलवायुजन्य विपदबाट हुने क्षति न्यूनीकरण तथा प्रतिकार्यको लागि मौसम तथा जलवायु अनुगमन तथा पूर्वानुमान गरिरहेको छ। विभागले बढ्दो विषम जलवायु घटनाहरूलाई मध्यनजर गर्दै भारी वर्षा, चिसा दिन तथा शीत लहर र तातो दिनको अनुगमन तथा चेतावनी प्रणाली सार्वजनिक गर्ने विभागको योजना रहेको जनाएको छ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्