काेहलपुरका व्यवसायीहरूले भने, ‘बैंक आतंक बन्द गर’

कोहलपुर ।

कोहलपुर उद्योग वाणिज्य संघले बैंक तथा वित्तीय संस्थाहरुले अस्वभाविक रुपमा बृद्वि गरेको ब्याजदर र नेपाल राष्ट्र बैंकले जारी गरेको चालु पूजी कर्जा निर्देशिका २०७९ परिमार्जनको माग गर्दै बुधवार कोहलपुरमा विरोध प्रदर्शन गरेका छन् ।

‘बैंक आतंक बन्द गर, ब्याजदर स्थिर गर’ ब्याजदर चर्को भो गरि खान गाह्रो भो’ जस्ता नारा सहितको प्ले कार्ड बोकेर कोहलपुरको न्युरोडबाट निकालिएको उद्योगि ब्यबसायीहरुको बिरोध र्यालिले बजारका बिभिन्न भाग परिक्रमा गरि पुन न्युरोड चोकमा आएर कोण सभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै कोहलपुर नगर प्रमुख पुर्णप्रसाद आचार्यले ब्यबसायीहरुलाई परेको मर्काप्रति एक्केबद्धता जनाउँदै चर्को ब्याजदरका कारण ब्यबसायीहरु आफनो पेशा ब्यबसायबाट बिस्थापित भईरहेको बताए ।

ब्यबसायीमात्र हैन आर्थिक तरलताकै कारण सर्बसाधारणको घरमा समेत चुलो बल्न कठिन भएको भन्दै नगर प्रमुख आचार्यले राज्यले ठोस र दिर्घकालिन निती लिन आवश्यक रहेको बताए ।

यस्तै उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य चक्र अधिकारीले बैंक वित्तीय संस्थाहरुले प्रवाह गर्ने कर्जाको ब्याजदरले सबै उद्योगी व्यवसायीहरु सडकमा आउने परिस्थिती सिर्जना भएको भन्दै आन्दोलनको विकल्प नरहेको बताए । उनले यसमा कुनै राजनैतिक सम्बन्ध नभएको जिकिर गर्दै ब्याज र आधारदर नियन्त्रणका निम्ति केन्द्रिय महासंघबाट समेत पहल गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

कोणसभालाई उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश सदस्य नरेन्द्र प्रसाद शर्मा, उद्योग बाणिज्य संघ कोहलपुरका अध्यक्ष लक्ष्मणराज पौडेल, घरलु महासंघ कोहलपुरका अध्यक्ष हेम बिक्रम जिसिलगायतले सम्वोधन गरेका थिए ।