डेंगुबाट प्रदेश १ का वनमन्त्री एवं प्रदेशसभाका उम्मेदवारको निधन

विराटनगर
प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ।

नेपाली कांग्रेसका पुराना नेता थापा आगामी निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ ‘क’बाट प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फका उम्मेदवारसमेत थिए। उनी कांग्रेसको प्रदेश १ का सदस्य हुन्। १ महिनादेखि उपचाररत थापाको विराटनगरको नोबेल शिक्षण अस्पतालमा बुधबार बिहान १०:४० बजेतिर निधन भएको हो। नोबेल अस्पतालको न्यूरो वार्डको ११ नम्बर कोठामा उनको उपचार भइरहेको थियो।

५८ वर्षीय थापा मोरङको पथरीशनिश्चरे नगरपालिका–८ सखराका बासिन्दा हुन्। काठमाडौंको पेप्सिकोलामा पनि उनको घर छ। गत असोज २३ गते मनोनयन दर्ता गरेपछि उनको स्वास्थ्यमा समस्या देखिएको थियो। उपचारका लागि भोलिपल्ट नोबेलमा भर्ना गरेर परीक्षण गराउँदा डेंगुको संक्रमण पुष्टि भयो।

लगत्तै गम्भीर प्रकारको निमोनिया र पायल्ससमेत देखिएर स्वास्थ्य अवस्था नाजुक बनेसँगै असोज २७ गते थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो। काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराएर २५ दिनपछि उनलाई विराटनगर ल्याइएको हो। काठमाडौंमा उपचार पश्चात स्वास्थ्य अवस्था ठीक बन्दै गएको भनेर आफन्तले विराटनगर ल्याएका थिए।

श्वासप्रश्वासमा समस्या भएर स्वास्थ्य अवस्था जटिल बनेपछि गत सोमबार पुनः नोबेलमा भर्ना गरिएको थियो। मंसिर ४ गतेको निर्वाचनका लागि उम्मेदवार र कार्यकर्ता चुनावी घरदैलो अभियानमा व्यस्त हुँदा थापा भने बिरामले थलिएर उपचाररत थिए। नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले उपचाररत अवस्थामै थापाको निधन भएको पुष्टि गरे। उनका अनुसार स्वास्थ्य अत्यन्तै कमजोर भएका कारण निरन्तर अक्सिजन दिएर थापाको उपचार सुरु गरिएको थियो।

थापाकी पत्नी लक्ष्मीका अनुसार असोज दोस्रो सातादेखि नै स्वास्थ्यमा सामान्य समस्या देखिएको थियो। मनोनयन दर्ता गरेपछि भने स्वास्थ्य थप जटिल बनेसँगै उपचारका लागि अस्पताल भर्ना गरिएको उनले बताइन्। मनोनया दर्ताअघि अफिसको काम र चुनावका लागि टिकटको दौडधूप भएकाले औषधि खाँदै थापा काममा खटिएका थिए।

पूर्वप्रधानमन्त्री स्वः गिरिजाप्रसाद कोइरालाको ८ वर्ष निजी सचिव भएर काम गरेर थापा २०७४ सालमा समानुपातिक सांसद निर्वाचित भएका थिए। यो पटक उनलाई पार्टीले प्रत्यक्षतर्फको टिकट दिएको थियो। थापाका श्रीमती, १ छोरा र १ छोरी छन्। शवको अन्त्येष्टि कहाँ गर्ने भन्ने टुंगो लाग्न बाँकी रहेको पारिवारिक स्रोतले बतायो।

थापाको निधन भएपछि त्यो क्षेत्रमा कांग्रेसको उम्मेदवारका विषयमा निर्वाचन आयोगले निर्णय गर्ने बताइएको छ। निर्वाचन अधिकृतको कार्यालयले निधनका विषयमा निर्वाचन आयोगलाई जानकारी गराएपछि आयोगले अरु गतिविधि स्थगित गरी कार्यतालिका बनाएर मनोनयन लगायतका प्रक्रिया अघि बढाउने प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिए। उनका अनुसार नयाँ उम्मेदवारीको विषय निधन भएका उम्मेदवारको दलका हकमा मात्रै लागू हुनेछ।