रावन विश्वकर्मा, बर्दिया ।
नेपाल राष्ट्र बैंकले घोषणा गरेको नयाँ ब्याजदरका विरुद्ध बर्दियाका उद्योगी, व्यवसायीहरूले विरोध प्रर्दशन गरेका छन्।
जिल्ला प्रशासन कार्यालय बर्दियामार्फत गर्भरनरलाई ज्ञापन पत्र बुझाउँदै उनीहरूले व्यवसायीहरूसँग समन्वय नगरी एकलौटी रूपमा निर्धारण गरेको कर्जा ब्याजदर तुरुन्त खारेज गर्न माग गरेका छन्। बर्दियाका आठवटै पालिकाका उद्योग वाणिज्य संघ सम्मिलित जिल्ला समन्वय समितिको अग्रसरतामा व्यपारीहरूको विरोध ¥याली सहितको टोलीले जिल्ला प्रशासन कार्यालय बर्दियाको मूलगेट अगाडि नाराबाजी गर्दै राष्ट्र बैंकले वृद्धि गरेको कर्जा ब्याजदरको विरोध गरेका हुन्।
कोभिडबाट आक्रान्त बनेका व्यवसायीमाथि नेपाल राष्ट्र बैंकले लिएको कर्जा प्रवाह नीतिले उद्योगी व्यवसायी पलायन हुने निश्चित रहेको उद्योग वाणिज्य संघ गुलरिया, बर्दियाका अध्यक्ष देवेन्द्र पाण्डेले बताएका छन्। ब्याजदर वृद्धिले सेवा तथा वस्तुको मूल्य वृद्धि भई सर्वसाधारण नागरिकलाई मूल्य वृद्धिको असर पुग्ने उनको भनाइ छ।
राष्ट्र बैंकले २० र २५ प्रतिशत कर्जा प्रवाह गर्ने नीति खारेज गर्नुपर्ने, व्यापारीसँगको भद्र सहमतीको भावनाविपरीत गरिएको कर्जा सिण्डिकेट प्रणालीको खारेज, अनुदान कर्जाको निरन्तरता, सीमापारीका बजारबाट हुने अवैध आयात रोक्न सुरक्षाको प्रत्याभूति सहितको भन्सार कार्यालय स्थापना गर्नुपर्ने व्यवसायीहरूको माग रहेको बढैयाताल उद्योग वाणिज्य संघका अध्यक्ष एवम् समन्वय समितिका प्रवक्ता बालकृष्ण लामिछानेले बताएका छन्। बैंकले कर्जा लगानी तथा ब्याजदरमा मनोमानी वृद्धि गरी अपराध गरेको उनको भनाइ छ।
ज्ञापन पत्र बुझ्दै बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले सम्बन्धित निकायमा तत्काल पठाइने बताए। सीमापारबाट हुने अवैध आयातलाई निरुत्साहित पार्न भन्सार कार्यालय स्थापनाका लागि केन्द्रमा पत्राचार भइसकेको प्रजिअ बास्तोलाको भनाइ छ। उद्योग वाणिज्य संघ गुलरियाको कार्यालय अगाडिबाट निकालिएको ¥यालीले राधाकृष्ण चोक हुँदै जिल्ला प्रशासन कार्यालय बर्दिया अगाडि नाराबाजी गर्दै ज्ञापन पत्र बुझाएका हुन्।
काेहलपुर टुडे । ४ कार्तिक २०७९, शुक्रबार १८:४१