हिमाल र पहाडमा भन्दा तराइमा चर्को मूल्यवृद्धि देखिएको




काठमाडौं ।
गत साउन र भदौ महिनामा नेपालको हिमाली र पहाडी क्षेत्रको तुलनामा तराइमा बढी मूल्यवृद्धि देखिएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिना (साउन र भदौ) को आर्थिक विवरणमा उपभोक्ता मूल्यवृद्धि ५.१५ प्रतिशत विन्दुले वृद्धि भएको छ । यो अवधिको कुल मूल्यवृद्धि ८.६४ प्रतिशत छ, गत आर्थिक वर्षमा भने यस अवधिको मूल्यवृद्धि जम्मा ३.४९ प्रतिशत थियो ।

गत साउन र भदौमा तराइको मूल्यवृद्धि दर सबैभन्दा धेरै ९.३३ प्रतिशत छ । पहाडमा ८.८२ र हिमाली क्षेत्रमा ६.६८ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । काठमाडौं उपत्यकाको मूल्यवृद्धि दर भने ७.६२ प्रतिशत छ ।

साउन र भदौमा खाद्यान्नको भाउ ८.१७ प्रतिशतले बढ्दा गैरखाद्य पदार्थ ९.०२ प्रतिशतले महंगिएको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ । गत आर्थिक वर्षको भदौको तुलनामा २०७९ भदौमा खाद्य तथा पेय पदार्थ समूह अन्तर्गत फलफूल १७.२९, घिउ तथा तेल १४.५३, रेष्टुरेण्ट तथा होटलको सेवा १२.३०, मदिराजन्य पेय पदार्थ १०.२४ र तरकारी ९.९४ प्रतिशत महंगिएको छ ।

यस्तै गैरखाद्य तथा सेवा समूह अन्तर्गत यातायात २३.४१, स्वास्थ्य १०.५४, फर्निसिङ तथा घरायसी उपकरण ९.२५, शिक्षा ९.११ र घरायसी उपयोगका वस्तुको मूल्य ७.६९ प्रतिशतले बढेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक ४ गते शुक्रबार