‘बालविकासदेखि नै शैक्षिक सुधार हुन आवश्यक छ’

बाल विकास केन्द्रका २० जना बालबालिकालाई झोला सहित शैक्षिक सामग्री हस्तान्तरण

प्रदिप कुमाई,  कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका वडा नं. २ मा रहेको बाल विकास केन्द्रका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । बिहिबार कोहलपुर नगरपालिका वडा नम्बर २ कार्यालयको आयोजनामा बालकालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरिएको हो ।

कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले बालबालिकाको पढाईमा प्रोत्साहन गर्नका लागि सामग्री वितरण गरिएको बताए । ‘शैक्षिक स्तरलाई बृद्धि गर्न विभिन्न योजनाहरु ल्याएका छौं’, उनले भने, ‘आगामी शैक्षिक शत्रबाट १ देखि ३ कक्षा सम्म अंग्रेजी माध्यमबाट पढाई सुरु गर्ने योजना ल्याएका छौं ।’ अन्य करिब १० वटा योजना भन्दा बढि रहेको आचार्यको भनाई थियो ।

यस्तै कोहलपुर नगरपालिका वडा नं. २ का अध्यक्ष हरि कठायतले शैक्षिक लगानी गर्नु भनेको भविष्यमा ठुलो उपलब्धि हुने बताए । ‘बालबालिकाको दिमाग काचो माटो हो’, उनले भने, ‘जस्तो बनायो उस्तै बन्छ ।’ त्यसकारणले अभिभावक र शिक्षकले बालबालिकाले के कस्तो गरिएको छ ? कसरी गुणस्तरीय शिक्षा दिलाउन सकिन्छ ? भन्ने विषयमा ध्यान दिनुहुन अनुरोध गरेका थिए ।

वडा कार्यालयले वडामा रहेका बाल विकास केन्द्र तथा प्राथमिक तहका बालबालिकाहरुको भविष्यको बारेमा निकै गम्भिर रुपमा लागि परेको वडा अध्यक्ष कठायतले बताए ।

यस्तै कोहलपर नगरपालिका उपप्रमुख संगिता सुवेदीले कोहलपुरलाई शैक्षिक हव बनाउन बालविकास देखि नै सुधार हुनुपर्नेमा जोड दिएकी थिइन् । शैक्षिक सुधार गर्नका लागि विद्यालय प्रशासन, विव्यस अध्यक्ष र अभिभावकको महत्वपूर्ण भूमिका रहेको उपप्रमुख सुवेदीले बताइन् ।

बाल विकास केन्द्रका २० जना बालबालिकालाई झोला सहित शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो ।