अस्पताल फार्मेसी निर्देशिका २०७८ तत्काल कार्यान्वयन नगर्न

काठमाडौं ।

सर्वोच्च अदालतले अस्पताल फार्मेसी निर्देशिका २०७८ तत्काल कार्यान्वयन नगर्न स्वास्थ्य मन्त्रालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको छ।

न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७८ जारी गर्दाको प्रक्रिया तथा उक्त नयाँ निर्देशिकामा अन्तरनिहित विषयवस्तुहरु नेपालको संविधानको धारा ३५ को स्वास्थ्य सम्बन्धी हक तथा जन स्वास्थ्य सेवा ऐन, २०७५ का प्रावधान प्रतिकूल रहेको भन्दै निर्देशिका तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको हो।

‘२०७८ सालको निर्देशिका तत्काल कार्यान्वयन नगर्दा पनि अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ कायम नै रहने देखिएकोले उक्त अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७८ तत्काल कार्यान्वयन नगर्नु’ आदेशमा भनिएको छ।

साथै उक्त विषयमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने सम्बन्धमा छलफल गर्न कार्तीक २१ गतेको लागि अर्को पेशी तोकीएको छ।