कोहलपुर नगरपालिकाको बजार अनुगमन : अव्यवस्थित र दर्ताबिना सञ्चालनमा




प्रदिप कुमाई, कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले केही दिनयता मासु पसलहरुको अनुगमन गरेको छ । कोहलपुर नगरपालिकाकाले बिहिबारदेखि आजसम्म ६ वटा वडाका मासु पसलहरु अनुगमन गरेको छ । सो अनुगमनबाट अधिकांश मासु पसलहरु अव्यवस्थित र दर्ता बिना सञ्चालनमा रहेको पाइएको छ ।

बजार अनुगमन समिति कोहलपुरले शनिबार वडा नं. ८, ९, १०, ११ र १२ वडाका मासु पसल अनुगमन गर्ने क्रममा अधिकांश पसल अव्यवस्थित, नगरपालिकामा दर्ता नभएको र मूल्य सूचि समेत नभएको पाइएको हो । अधिकांश मासु पसलहरु नगरपालिकामा दर्ता छैनन भने कतिपयले नविकरण गरेको अनुगमन टोलीले जानकारी दिएको छ ।

कोहलपुर नगरपालिका सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्माका अनुसार कोहलपुर-१४ हवल्दारपुरमा रहेको एस के मिट एण्ड सप्लायर्समा अनुगमन टोली पुग्दा मासु काट्ने अचानो झिँगाले भरिएको थियो भने फोहोरको डंगुर यत्रतत्र थियो । अन्य मासु पसलको पनि अवस्था उस्तै देखियो । समयसिमाभित्र पसललाई सुधार नगरे कारबाही गर्ने सामाजिक विकास समितिका संयोजक विश्वकर्माले जानकारी दिनुभयो ।

यस्तै आर्थिक विकास शाखाका प्रमुख विर बहादुर विकले मापदण्ड विपरित भेटिएका पसलहरुलाई सरसफाइ र गुणस्तर सुधार गर्न ७ दिनको समय दिइएको बताउनुभएको छ । ‘तीन दिनमा २० वटा मासु पसलमा अनुगमन गरेका छौंं’ उहाँले भन्नुभयो, ‘अब फेरी ७ दिन पछि अनुगमनमा जानेछौं ।’ फेरी सोही कार्य दोहोरिएको भेटिएमा कारवाही गर्ने आर्थिक विकास शाखाका प्रमुख विक बताउनुभयो ।

अधिकांश बँगुर र राँगाको मासु बिक्री वितरण गर्ने पसलहरु अव्यवस्थित भएको भन्दै ति पसलहरुलाई उचित व्यवस्थापनका लागि समय दिएको पशु सेवा शाखाका अधिकृत तिलक प्रसाद आचार्यले बताउनुभयो ।

कोहलपुरका ८ पिपरीमा रहेको स्वच्छ मासु पसल र चप्परगौडी १२ मा रहेको क्षितिज फ्रेस हाउस भने गुणस्तरीय भएको अनुगमन टोलीले बताएको छ ।

अनुगमन टोलीमा सामाजिक विकास समितिका संयोजक ईश्वरी प्रसाद विश्वकर्मा, आर्थिक विकास शाखाका प्रमुख विर बहादुर विक, नगर प्रहरी निरिक्षक विर बहादुर थापा, इलाका प्रशासन कार्यालयबाट विश्वदेव खड्का, पशु सेवा शाखाका अधिकृत तिलक प्रसाद आचार्य, कोहलपुर उद्योग वाणिज्य संघबाट पवित्रा ढकाल, प्रतिबोध एफएमबाट हेमन्त विक र कोहलपुर टुडेबाट डिल्ली शाही रहेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई kohalpurtoday26@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज १५ गते शनिबार