रुकुम पूर्व बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या ५ पुग्यो (नामावलीसहित)




शुदाम शर्मा, कर्णाली व्यूरो प्रमुख ।

रुकुम पूर्वमा बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ५ पुगेको छ । काठमडौंबाट रुकुम पूर्वको रुकुमकोटकोट तर्फ गइरहेको ग १ ख ९१०९ नम्बरको बस बिहीवार दिउँसो भूमे ३ क्याङसी बगरमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा रुकुम पूर्वको पुथाउत्तरगंगा गाउँपालिका–८ चारगाउँका ३६ वर्षीय पूर्णबहादुर बुढा, भूमे गाउँपालिका–५ डालिबाङका २३ वर्षीय बुद्धिमान बुढा, सिस्ने गाउँपालिका–६ का २ वर्षीय बालक सिजन खड्का र उनकी आमा ४० वर्षीया लक्ष्मी खड्का रहेका छन् ।

त्यस्तै दुर्घटनामा परि बस चालक रामेछापका २६ वर्षीय लिलाभक्त श्रेष्ठको पनि मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण खत्रीले जानकारी जानकारी दिए । दुर्घटनामा परी तीन जनाको घटनास्थलमा र दुई जनाको जिल्ला अस्पताल रुकुमकोटमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका १२ जनामध्ये गम्भीर घाइते ४ जनालाई उपचारका लागि बाँकेको कोहलपुर लगिएको छ । ८ जनाको भने जिल्ला अस्पताल रुकुम पूर्वमा उपचार भइरहेको छ ।

गम्भीर घाइते हुनेहरुमा सिस्ने गाउँपालिका–६ का ३६ वर्षीय लालबहादुर खड्का, सोही ठाउँका ६ वर्षीय साइमान खड्का, १९ वर्षीया निरुता थापा र रुकुम पश्चिम आठबीसकोट नगरपालिका–१३ का ३५ वर्षीय डम्बर नेपालीलाई कोहलपुर पठाईएको छ । उनीहरुलाई सुर्खेतबाट आएको नेपाली सेनाको हेलिकोप्टरबाट कोहलपुर पठाइएको प्रहरी निरीक्षक खत्रीले जानकारी दिए ।

मृत्यु हुनेमा

१. लक्ष्मि बि.सी. खड्का  सिस्ने ६ छिप्रिदह उमेर ४० वर्ष
२. सिजन खड्का बर्ष ३ सिस्ने ६ छिप्रिदह
३. लिला भक्त श्रेष्ठ बर्ष २६ रामेछाप (चालक)
४. पुर्ण बहादुर बुढा बर्ष ३५ पुथा उ.गा.पा.८ चारगाउ
५. बुद्दिमान बुढा बर्ष २३ काे भुमे गा.पा.५ डालिवाङ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ असोज ६ गते बिहीबार