दाङमा ६ किलो बढी लागूऔषधसहित ४ जना पक्राउ

दाङ, असोज

दाङमा ६ किलो बढी आगुऔषधसहित ४ जना पक्राउ परेका छन् । दुई छुट्टा–छुट्टै ठाउँबाट ४ जनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख तथा एसपी वीरबहादुर वलीले असोज २ गते साँझ करिब साढे ६ बजे लमही नगरपालिका–९ अमिलियाबाट दुई महिलालाई लागूऔषध चरेसहित पक्राउ गरेको बताए ।

पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१३ की ४० बर्षीया सुशीला गिरी र रोल्पा नगरपालिका–६ कोटगाउँ घर भइ हाल घोराही उपमहानगरपालिका–१३ सेवार बस्ने ३८ बर्षीया खुशी पुन मगर भनिने एकता पुन मगर रहेका छन् ।

उनीहरुको साथबाट प्रहरीले ६ किलो ३६० ग्राम चरेस जस्तो देखिने कालो पदार्थ बरामद गरेको छ । तुलसीपुरबाट भारतको दिल्ली तर्फ जाँदै गरेको ना ७ ख ९०५ नम्बरको बसबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

भारत तर्फ चरेस लगिदै गरेको सूचनाका आधारमा बसमा सवार ती दुई महिलालाई प्रहरीले खानतलासी गरेको थियो । प्रहरीले खानतलासी गर्दा उनीहरुले आफ्नो दुई वटै खुट्टाको साप्रामा चरेस बाँधेर लुकाएको अवस्थामा फेला पारेको थियो ।

यस्तै २ गते साँझ ५ बजेतिर प्रहरीले पूर्व पश्चिम राजमार्ग अन्तरगत गढवा गाउँपालिका–१ कालाकाटेबाट लागूऔषध ब्राउन सुगरसहित २ युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा
कपिलस्तुको कपिलवस्तु नगरपालिका–१० जगदिसपुरका २५ बर्षीय हिरासिंह क्षेत्री र बाणगंगा नगरपालिका–११ निवासी १८ बर्षी मोहबद खाँन रहेका छन् ।

प्रहरी प्रमुख वलीका अनुसार उनीहरुको साथबाट प्रहरीले ११३ दशमलव ४६ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको छ । साथै प्रहरीले उनीहरु सवार लु ६८ प १६६६ र लु ५५ प ६८३७ नम्बरका मोटरसाइकल समेत बरामत गरेको छ ।

गढवामा लागूऔषध कारोबार भइरहेको सूचनाका आधारमा गएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका ४ जनलाई अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी प्रमुख वलीले जानकारी दिए ।