रुकुम पश्चिममा आत्महत्या विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड

शुदाम शर्मा, रुकुम पश्चिम ।

रुकुम पश्चिमका सरोकारवालाहरुले आत्महत्या विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा जिल्ला सदरमुकाम मुसीकोटमा आयोजित कार्यक्रमका सहभागिहरुले आत्महत्या रोकथामका लागि सबै एकजुट हुनुपर्ने जोड दिएका हुन् ।

विभिन्न कारणले मान्छेहरुले आत्महत्या गरिरहेको र आत्महत्या प्रमुख समस्या बन्दै गइरहेको तर्फ सरोकारवालाहरुले सतर्क बनाएका छन् ।जिल्ला प्रहरी कार्यालयको तथ्यांक अनुसार अन्य घटनाको तुलनामा जिल्लामा गत एक वर्षमा मात्र ५५ वटा आत्महत्या प्रतिवेदन प्रस्तुत भएको थियो ।

यसका साथै प्रतिवेदन अनुसार वितेका तीन वर्षमा रुकुम पश्चिममा १ सय ३२ वटा आत्महत्या तथा आत्महत्याको प्रयासका घटना भएका छन् ।

मुसीकोट नगरपालिका वडा नम्बर १ को बराहटाकुरा देखि वडा नम्बर ५ को सेरिगाउँमा रहेको सहिद प्रतिष्ठानको हलसम्म प्रभातफेरी निकालिएको थियो ।

त्यसक्रममा सहभागिहरुले आत्महत्या विरुद्धका विभिन्न नाराहरु लेखिएका प्ले कार्ड सहित सचेतनामुलक नारा लगाएका थिए ।