डेङ्गु नियन्त्रण गर्न काेहलपुरमा जनचेतना अभियान

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाले डेङ्गु सङ्क्रमणको जोखिम बढेपछि जनचेतना अभियान सञ्चालन गरेको छ । कोहलपुरका विभिन्न वडाहरुमा अहिले डेङ्गु सङ्क्रमणको जोखिम न्यूनिकरण गर्नका लागि जनचेतना अभियान तिव्र रुपमा सञ्चालन गरिरहेको छ ।

शनिबार कोहलपुर नगरपालिका वडा न १० मा रहेको सुन्दर कालिका टोलमा सरसफाई तथा जनचेतना अभियान सञ्चालन गरिएको छ ।

डेङ्गु नियन्त्रणका लागि कोहलपुर नगरपालिका नगर स्वास्थ्य शाखाको आयोजना तथा सुन्दर कालिका टोल विकास समितिको सहकार्यमा अभियान गरिएको टोल विकास समितिका अध्यक्ष रतन बहादुर बुढाले जानकारी दिए । अभियानमा घर घरमा पुगेर डेङ्गु रोगबाट बच्ने उपायबारे जानकारी दिइएको थियो ।

नेपालका विभिन्न ठाउँमा डेङ्गुको सङ्क्रमण बढ्दै गएकाले सतर्कताका लागि यो अभियान सुरु गरेको स्वास्थ्य कोहलपुर नगर स्वास्थ्य शाखा प्रमुख अनिल सेनले जानकारी दिए । ‘डेङ्गु लाग्न नदिनु सबैभन्दा उत्तम उपाय भनेको लामखुट्टेको टोकाइबाट जोगिनु हो, उनले भने, ‘प्राय दिनको समयमा सक्रिय रहने एडिज जातको लामखुट्टेको टोकाइबाट यो रोग लाग्छ ।’

यसबाट जोगिनका लागि पूरा बाहुला भएको पोशाक लगाउनु पर्ने स्वास्थ्य शाखा प्रमुख सेनको भनाई थियो । यस्तै सो अभियानमा स्वास्थ्यकर्मी दिपक शर्मा, नवीन भण्डारी, वडा सदस्य कमला सुनार लगायतको सहभागीता रहेको थियो ।