घट्दै राप्ती नदीको बहाव, जाेखिम कायमै

काेहलपुर ।

अविरल वर्षाका कारण खतराको सतह पार गरेको राप्ती नदीको बहाव घट्न थालेको छ ।

बाँकेको कुसुमस्थित बाढी मापन केन्द्र कुसुमका अनुसार राप्ती नदीमा पानीको सतह बढेर ६. ४० मिटर पुगेकोमा अहिले दिउँसो १ बजेर ३८ मिनेट जाँदा घटेर ६ मिटरमा पुगेको छ । पानीको सतह ५ मिटर ४० सेन्टिमिटर पुगेपछि खतरा मानिन्छ ।

पहाडी जिल्ला रोल्पा, प्युठानमा अत्यधिक वर्षा भएका कारण राप्ती नदीमा पानीको सतह बढेको हो । लगातारको बर्षा रोकिएपछि राप्ती नदीमा पानीको सतह घट्न थालेको हो ।

कुसुमबाट करिव ५ घण्टाको अन्तरमा राप्तीको तल्लो तटिय क्षेत्र फत्तेपुर, गंगापुर, होलिया, बेतहनी, कम्दी लगायत स्थानमा बाढी पुगि सकेको छ ।

भारतले अन्तराष्ट्रिय कानुन विपरित निर्माण गरेको लक्ष्मणपुर बाँध, कलकलवा बाँधका कारण हरेक वर्ष ठुलो बाढी आउने वित्तिकै बाँकेका आधा दर्जन बढी गाउँ डुब्दै आएका छन् । बाढीका कारण हजारौं विघा खेतीयोग्य जमिन कटान र पटान भइसकेको छ ।