नेपालगञ्ज ।
बाँकेको नरैनापुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मणिराम खरालले सम्हालेका छन् । प्रमख प्रशासकीय अधिकृत खरालले आजदेखि नरैनापुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका हुन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खराललाई प्रमुख प्रशासकीय अधिकृतको रूपमा सरूवा गरेको हो । यसअघि नरैनापुर गाँउपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको भूमिका निर्वाह गर्दै आएका भरत बस्नेतले सोही पालिकाको लेखा अधिकृतको जिम्मेवारी सम्हालेका छन् ।
गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाह र उपाध्यक्ष जयन्तीकुमारी श्रीवास्तव लगायत अन्य जनप्रतिनिधि र कर्मचारीले खराललाई स्वागत गरेका थिए । अध्यक्ष शाहले कोरोनाको पहिलो चरणमा नरैनापुर गाउँपालिकामा सात महिना प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरेका खरेलले संकटको समयमा निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका थिए । शाहले फेरि पनि सुख्खाग्रस्त क्षेत्र नरैनापुरमा खराल दोस्रो पटक आएको भन्दै खुसी व्यक्त गरे ।
गाउँपालिका कार्यालय नरैनापुरमा अध्यक्ष शाह, उपाध्यक्ष श्रीवास्तव, जनप्रतिनिधि, निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी निर्वाह गरेका लेखा अधिकृत भरत बस्नेत, वडा नम्बर २ का वडा अध्यक्ष मसुद अहमद शाह, जिन्सी शाखा प्रमुख एवं वडा नम्बर ५ का सचिव भरत महतो, नरैनापुरको विपत शाखाका प्रमुख लक्ष्मीकान्त मिश्रा, लेखापाल प्रकाश अधिकारी तथा अन्य कर्मचारीले प्रमुख प्रशासकीय अधिकृत खराललाई स्वागत गरे ।
खराल सुशासन र आर्थिक पारदर्शितामा अब्बल प्रशासकका रुपमा चिनिन्छन् । यसअघि पनि थुप्रै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेको उनीसँग अनुभव छ । नरैनापुर गाउँपालिकाको समग्र विकास र समृद्धिका लागि आफूले इमान्दारितापूर्वक काम गर्ने खरालले प्रतिवद्धता जनाएका छन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।














प्रतिक्रिया दिनुहोस्