बाँकेमा दुबै मन्त्रीको अवस्था ‘बलियो र सुदृढ’

नेपालगञ्ज  ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभाको निर्वाचन सम्बन्धि कार्यतालिका सार्वजनिक भएसंगै निर्वाचनको माहोल देशभरि तातिंदै गएको छ ।

विशेषगरि भिआईपी सिटहरुमा निर्वाचनको चर्चा परिचर्चा चुलिएसंगै सर्वसाधारणले पनि आ-आफ्नो तरिकाले हारजितको आंकडा लगाउने काम शुरु गरेका छन् । चियापसलदेखि लिएर विभिन्न सभा समारोहमा समेत चुनावी चर्चा भैरहेका छन् ।

वर्तमान सरकारमा अहिले बाँके जिल्लाबाट दुई जना प्रभावशाली नेताहरु मन्त्री छन् । दुबैजनाले राम्रो र महत्वपुर्ण मन्त्रालय पाएकाले उनिहरुले प्रतिनिधित्व गर्ने क्षेत्र नम्बर १ र २ अहिले सर्वाधिक चर्चामा छ ।

बाँके १ का संघीय सांसद, नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा जनयुद्धका कमाण्डर महेश्वर गहतराज अथक युवा तथा खेलकुद मन्त्री हुनुहुन्छ भने बाँके २ का संघीय सांसद, मधेश आन्दोलनका पश्चिम कमाण्डर तथा जनता समाजवादी पार्टीका कार्यकारीणी सदस्य मोहम्मद ईश्तियाक राई भौतिक पुर्वाधार तथा यातायात मन्त्री हुनुहुन्छ ।

संविधान, गणतन्त्र र संघियताको रक्षाका लागि पाँच दलविच बनेको गठबन्धन कायमै रहेको र यो निर्वाचनमा पनि सोही गठबन्धनबाटै उम्मेदवार मैदानमा आउने भएकाले दुबैजना मन्त्रीहरुको सिटको टिकेट उहाँहरुका लागि हालसम्म सुरक्षित नै रहेको छ ।

यद्यपी अहिले सबै दलले आआफ्ना संभावित उम्मेदवारको नाम सिफारिस गर्ने क्रम जारी नैछ । सो क्रममा मन्त्री राईको नाम उहाँको दलबाट एकल सिफारिस भएको छ भने मन्त्री अथकको नाम सिफारिस हुन अझै बाँकी छ । भदौ २७ गते हुने माओवादी केन्द्रको क्षेत्रको बैठकले नाम सिफारिस गर्ने जनाईएको छ ।

दुबैजना मन्त्रीहरुको केन्द्रमा राम्रो पकड रहेको छ । सोही कारण र गठबन्धनविच बनेको मापदण्डका कारण दुबैजनाले फेरी पनि आ आफ्नो निर्वाचन क्षेत्रबाट सहजै टिकट पाउने निश्चित छ ।

दुबैजना नेताहरु आ आफ्नो निर्वाचन क्षेत्रमा सधैं केन्द्रित रहने मतदातासंग भेटघाट गरिरहने, मतदाताको घरदैलोमा गैरहने नेतामा गनिनुहुन्छ ।

मन्त्री राईले सांसद हुँदै सहरी विकास मन्त्रीदेखि अहिले पुर्वाधार मन्त्री बन्दासम्म आफ्नो क्षेत्रका जनतालाई दर्जनौ विकासका योजना दिईसक्नु भएको छ भने मन्त्री अथकले दिनरात विभिन्न मन्त्रालयमा गएर आफ्नो क्षेत्रका लागि धेरै योजनाहरु पार्न सफल हुनु भएको छ ।

गठबन्धनबाट उम्मेदवार बन्ने निश्चित बनिसकेपछि राईले राप्रपा र एमालेको संयुक्त उम्मेदवार धवल शमसेर राणासंग प्रतिष्पर्धा गर्नु हुनेछ भने अथकले सम्भवतः एमालेका उम्मेदवार सुर्य ढकाल वा अन्यसंग प्रतिष्पर्धा गर्नुहुनेछ ।

दुई पटक नेपालगञ्जको मेयर बनिसकेका राणाको छवि अब पहिलेजस्तो छैन । उहाँको मेयरको दोस्रो कार्यकाल निकै विवादित बन्यो । पार्टीमा आएको फुटले पनि उहाँलाई प्रभाव पार्ने निश्चित छ । विकासको नाममा सिन्को समेत नभाँचेको उहाँलाई आरोप छ । होटल व्यवसायी दिवाकर खनालको उम्मेदवारी अन्तिम दिनसम्म रहने हो भने राणाको अवस्था नाजुक बन्ने राजनितिक विश्लेषकको भनाई छ ।

अर्कोतर्फ विकासका कामहरुका कारण मन्त्री राईको अवस्था दिनदिनै बलियो र सुदृढ बन्दै गएको छ । तेस्रो पटक मन्त्री बनेको दुई महिना नपुग्दै उहाँले आफ्नो क्षेत्रमा विकासका धेरै योजना तान्न सफल हुनुभएको छ ।

हरेकको सुखदुखमा सहयोगी बन्ने, जनतासंग सधैं टचमा रहने र क्षेत्रको विकासका लागि एकोहोरो दौडधुप गर्ने छवि बनाउनु भएका राईलाई यहाँ टक्कर दिन कसैका लागि पनि त्यति सहज छैन । सोही कारणले हालसम्म उहाँ ग्रिन जोनमा हुनुहुन्छ ।

उता, मन्त्री अथक पनि जनतामा निकै लोकप्रिय हुनुहुन्छ । आफ्नो निर्वाचन क्षेत्रमा हुलाकी सडकदेखि, विद्युत पुर्याउन उहाँको प्रमुख भूमिका रहेको छ । सो का लागि गत एक दसकदेखि उहाँ क्रियाशिल हुनुहुन्छ ।

त्यसका साथै काठमाण्डौमा मन्त्रालय मन्त्रालय चहारेर उहाँले आफ्नो क्षेत्रका विद्यालयका छाना टिनमुक्त बनाउन, सिंचाईको व्यवस्था गर्न, प्राविधिक धारको पढाई शुरु गराउन र विद्यालय भवनहरुको निर्माणका लागि पनि थुप्रै योजना ल्याउन सफल हुनुभएको छ ।

गुटबन्दीका कारण आफ्नै पार्टीमा समस्यामा परेपनि जनतामा उहाँको छवि राम्रो छ । बाँकेबाट गठबन्धनले क्षेत्र नम्बर २ र १ बाट राई र अथकलाई उम्मेदवार बनाउने प्राय निश्चित छ भने क्षेत्र नम्बर ३ बाट काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर उम्मेदवार बन्ने बढी संभावना छ ।

अहिलेसम्मको समग्र अवस्था हेर्दा बाँकेबाट दुई जना प्रभावशाली मन्त्री र एकजना काँग्रेसका सह-महामन्त्री ग्रिनजोनमै हुनुहुन्छ । गठबन्धन कायमै रह्यो भने तीनै जनाले मंसिर ४ को परिक्षा पास गर्ने निश्चितजस्तै छ ।