वडा अध्यक्ष कठायतको सय दिनको उपलब्धि

कोहलपुर ।

कोहलपुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष हरि कठायतले सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् । बिहिबार वडा अध्यक्ष कठायतले पदभार गरेपछि के के काम भए भन्ने विषयमा सय दिनको उपलब्धि सार्वजनिक गरेका छन् ।

अध्यक्ष कठायतले वडा बासी, नगरका जनप्रतिनिधि, प्रदेश र संघका विभिन्न मन्त्रालयलाई धन्यवाद दिँदै सबैको सहयोगमा २० वटा महत्वपूर्ण काम गरेको सार्वजनिक गरेका छन् । कठायतका अनुसार पहिलो जग्गा धनी लालपूर्जा वितरण गर्ने विषयमा ९० प्रतिशत काम भएकाे छ।

‘वडामा भएका सुकुम्बासी र भूमिहिनको तथ्थांक संकलन गरी वडा र नगरपालिकाको कार्यपालिकामा निर्णय गरिसकेका छौं’ उनले भने, ‘नापी कार्यालयमा पहिचान गर्र्नका लागि १५९ जनाको पठाइएको थियो जसमध्ये नापी कार्यालयले १५ जनाको अन्यत्र जग्गा भएको र १ सय ४४ जनाको भूमिहिन सुकुम्बासी भनी निर्णय गरी जिल्ला आयोगलाई बुझाएको छ, अब जिल्ला आयोगले निर्णय गरेपछि जग्गाधनी लालपूर्जा वितरण हुन्छ ।’

यस्तै वडाका विभिन्न स्थानमा डुवानको समस्या थियो, सो समस्याका लागि टोल विकास समिति र वडा सदस्यहरुको सहयोगमा डुवानको समस्यालाई समाधान गरेको वडा अध्यक्ष कठायतले बताए ।

अधिकांश भित्री सडकहरुमा ग्रावेल र नालि निर्माण भएको, घरघरमा स्वास्थ्यसेवा पुर्‍याउने उद्देश्यले हाईट्रोसिलका विरामीलाई घरमै गएर स्वास्थ्य परिक्षण संग उपचार गरेको, टोल विकास समिति, मानव बेचविखन समिति गठन, २ वटा भवनहरु शिलान्यास भई काम सुरु भएको र दैनिक गरिने सिफारिस लगायत अन्य विविध काम गरी २० वटा काम गरेको सय दिनको उपलब्धीमा उल्लेख छ ।

यस्तै संघ र प्रदेश विभिन्न मन्त्रालयबाट वडामा विकासको लागि ५ करोड बराबरका योजनाहरु पारेका छन् । जसमा तेह्र विगाह फिल्ड व्यवस्थापनका लागि ९४ लाख, विभिन्न मठमन्दिर निर्माण गर्नका लागि ३१ लाख ५० हजार, भवन निर्माणका लागि १ करोड ५० लाख र विभिन्न स्थानमा सडक पिच र ग्रावेलका लागि २ करोडको काम ठेक्का प्रक्रिया मार्फत काम भैइरहेको सय दिनको उपलब्धिमा उल्लेख छ ।

यस्तै संघ र प्रदेशका विभिन्न मन्त्रालयबाट पक्की नाली, पुरानो बनखेतदेखि निकुञ्ज जोडने बाटो स्तरउन्नतीको लागि १ करोड ५० लाख बजेट माग गरिएको छ ।

एपीएफ स्कुलदेखि कृष्ण मावि विद्यालयसम्म, मनकामना चोकदेखि हर्क बहादुर शाहीको घरसम्म र सिटिभिटीदेखि शिव प्रावि स्कुलसम्म कालोपत्रे गरी १० करोड बराबरको बजेट माग गरिएको सय दिनको उपलब्धीमा उल्लेख गरेका छन् । यस्तै कोहलपुर नगरपालिकाबाट आर्थिक वर्ष २०७९/८० मा ६६ लाख ५० हजार बजेट विनियोजन गरिएको अध्यक्ष कठायतले बताए ।