नरैनापुरमा देखिएको खडेरीका विषयमा मन्त्री अथकद्धारा उर्जा र कृषि मन्त्रीसँग छलफल

राहत प्याकेजको प्रस्ताव मन्त्रीपरिषदमा लैजान आग्रह

काठमाडौं

युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रमा देखिएको समस्याको बारेमा उर्जा र कृषि मन्त्रीसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।

बाँके क्षेत्र नं. १ को नरैनापुरमा देखिएको खडेरीको समस्याका बारेमा मन्त्री अथकले उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालसँग भेटेर छलफल गर्नुभएको हो ।

लामो समयदेखीको खडेरीका कारण नरैनापुरलाई सुख्खा क्षेत्र घोषणा गरीएको जानकारी गराउँदै मन्त्री अथकले त्यस क्षेत्रमा तत्काल डिप बोर्डिङको ब्यवस्था गरीदिन उर्जा मन्त्री भुसालसँग माग गर्नुभएको छ ।

सुख्खा क्षेत्र घोषणा भएको नरैनापुरका नागरीकहरुलाई भोकमरीबाट बचाउन तत्काल आवश्यक पहल गर्नुपर्नेमा जोड दिदैं मन्त्री अथकले तत्कालकालागि डिप बोर्डिङ र दिर्घकालीन रुपमा सक्टा सिचाइ आयोजना मार्फत नरैनापुरका कृषकहरुलाई सिचाइको ब्यवस्था गर्नेतर्फ उर्जा, जलस्रोत तथा सिचाई मन्त्रालयले विशेष पहल गर्नुपर्ने बताउनुभएको थियो ।

जवाफमा उर्जा मन्त्री भुसालले सकारात्मक प्रतिक्रिया दिनुभएको छ । यसैबिच मन्त्री अथकले बुधबार नै कृषि तथा पशुपन्छी विकास मन्त्री मृगेन्द्र कुमार सिंह यादवसँग भेटेर नरैनापुरका कृषकहरुलागी तत्काल राहत प्याकेज ल्याउन आग्रह गर्नुभएको छ ।

अर्थ मन्त्री र आफुले समेत त्यस क्षेत्रको स्थलगत निरिक्षण गरीसकेकाले तत्काल राहत प्याकेजको प्रस्ताव क्याबिनेटमा लैजान मन्त्री अथकले आग्रह गर्नुभएको हो ।