भुटानको सामना गर्नुअघि मुख्य प्रशिक्षक र कप्तानलाई टेलिफोनमार्फत खेलकुदमन्त्रीले दिए हौसला

काठमाडौं ।

हिला साफ च्याम्पियनसिपको छैटौं संस्करणको उद्घाटन खेलमा आयोजक नेपालले (आज) मंगलबार घरेलु मैदान दशरथ रंगशालामा भुटानसँग खेल्दैछ । खेल नेपाली समयअनुसार साँझ ५ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

खेलअघि युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले टेलिफोनमार्फत् मुख्य प्रशिक्षक र कप्तानलाई टेलिफोन गरी हौसला प्रदान गरेका छन् ।

भुटानविरुद्ध नेपालका नयाँ कप्तान एन्जिला तुम्बाप्पो सुब्बा र मुख्य प्रशिक्षक कुमार थापालाई टेलिफोन गरी मन्त्री गहतराजले हौसला प्रदान गरेका हुन् ।

‘घरेलु मैदानमा हुन लागेको भएर पनि तपाईहरुसँग आत्मविश्वास बढी हुनुपर्छ, तपाईहरुले यसपटक जित्नैपर्छ, राम्रोसँग खेलको अनुशासनमा रहेर खेल खेल्नुहोला, सरकार तपाईसँग छ ।’ मन्त्री गहतराजले कप्तान तुम्बाप्पोलाई भनेका छन् ।

मन्त्री गहतराजले टेलिफोनका क्रममा सरकारले घोषणा गरेको पुरस्कारको विषयमा समेत जानकारी गराएका थिए ।

तुम्बाप्पेको कप्तानीमा जितको लक्ष्यसहित मैदानमा उत्रदैछ । अनुभवी र युवा खेलाडीको समिश्रणले बनेको नेपाली टोली सुखद सुरुवात गर्ने योजनामा हुनेछ ।

टोलीसँग नेपालको सर्वाधिक गोलकर्ता रहेकी सावित्रा भण्डारी ‘साम्वा’, हिरा कुमारी भुजेल, अमृता जैसी, गीता राना, पुनम जर्घा मगर, विमला विक, विमला चौधरी, मन्जली कुमारी योन्जन, प्रिती राई, सरु लिम्बु, दीपा राई, अनिता बस्नेत, अनिता केसी र रश्मी कुमारी घिसिङसँगै रेखा कुमारी पौडेल, रहेका छन् । मिडफिल्डर दीपा शाहीले सुरुवाती रोजाईमै डेब्यु पाउने सम्भावना छ ।

गोलकिपर एन्जिला तुम्बापो सुब्बा महिला राष्ट्रिय टोलीको नयाँ कप्तान नियुक्त भएकी छन् । साफ च्याम्पिनसिप सुरु हुन एक दिन बाँकी रहँदा सोमबार मुख्य प्रशिक्षक कुमार थापाले एन्जिलालाई कप्तान र अर्की सिनियर खेलाडी अमृता जैसीलाई उपकप्तानको जिम्मेवारी दिएका हुन् ।