सडकको घेराबन्दीको नेतृत्व मैले गरेको हो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रप्रति प्रहार हुँदा त्यसको रक्षाका लागि सडकको घेराबन्दीको नेतृत्व आफुले गरेको बताएका छन् । माक्र्सवादी ज्ञान केन्द्रद्वारा काठमाडौँमा आइतबार आयोजित ‘नेपाली समाजवादको मार्गचित्र’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्रमाथि विभिन्न क्षेत्रबाट आक्रमण भइरहेको बताए ।

परिवर्तनलाई उल्ट्याउने र त्यसको नेतृत्वलाई निस्तेज पार्ने क्रम चलिरहेकाले त्यसविरुद्ध सडक आन्दोलन जरुरी भएको बताउंदै प्रचण्डले मङ्सिर ४ गतेको निर्वाचपछि सडकमा जाने बताए । संसद् विघटनको सम्बन्धमा निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसदीय विशेष सुनुवाई समितिमा बयान दिने क्रममा आफू सडकको घेराबन्दीमा परेको भनेर भनेको उल्लेख गर्दै उनले त्यो सडकको घेराबन्दीको नेतृत्व आफुले गरेको हो भन्ने लागेको बताए ।

लाखौँ जनता ल्याएर सडकमा आन्दोलन नगरेको भए त्यो संसद् विघट नै हुने र नेपाल फेरि एक पटक डरलाग्दो निरङ्कुशता तिर जान्थ्यो उनले भने । यो प्रणालीलाई बदल्नका निम्ति जनताको बीचमा जानुपर्ने आवश्यकता रहेकाले आफू सडकमा जान लागेको बताउंदै प्रचण्डले एक वर्षभित्रमै ठूलै आन्दोलन हुने बताएका छन् ।

अहिलेको गणतन्त्र त्यत्तिकै नआएको र त्यसका लागि ठूलो त्याग र सङ्घर्ष रहेको भन्दै प्रचण्डले संविधानले समाजवादको परिकल्पना मात्रै गरेको भए पनि साँच्चै समाजवादको ठोस भिजन र कार्ययोजनासहित जगैदेखि उत्पादन वृद्धि, श्रम र संस्कृति रुपान्तरण गर्ने योजना आफ्नो रहेको बताए । त्यही योजनाका साथ आफ्नै पहलमा वाम गठबन्धन गरेको तर त्यो सफल नभएको उनको धारणा थियो ।