७० वटा जिल्लामा डेंगी संक्रमण, बाँकेमा लामखुट्टेका लार्भा नष्ट गर्ने अभियान सुरू

नेपालगञ्ज ।

बाँकेको नेपालगन्ज उपमहानगरपालिकामा डेंगी ज्वरोका बिरामी भेटिएपछि लामखुट्टेका लार्भा र फुलहरु नष्ट गर्ने अभियान सुरु गरिएको छ ।

उपमहानगरमा सोमबार बिहानदेखि स्वास्थ्यकर्मी, जनप्रतिनिधी, महिला स्वास्थ्य स्वयं सेविका र स्थानीय बासिन्दाहरु डेंगी सार्ने मुख्य माध्यम लामखुट्टेका लार्भा र फुलहरु नष्ट गर्ने अभियान सुरु गरेको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग सम्पर्क ब्यक्ति दुर्गा गौतमले जानकारी दिइन् । उनका अनुसार ‘एडिस’ जातको लामखुट्टेको टोकाईबाट डेंगी सर्ने भएकाले लामखुट्टेको टोकाईबाट बच्नु सबैभन्दा प्रभावकारी हुन्छ ।

एडिस लामखुट्टे सफा जमेको थोरै पानीमा बस्ने भएकाले पानी जम्ने टिन, प्लाष्टिकका डब्बा, र बोत्तल, गमला, फुलदानी, कुलर पानीको ट्याङ्की, टायर लगायतका स्थानमा जमेको पानीमा फुल पार्ने र लामखुट्टेको विकास हुने भएकाले पानी खाली गर्नुपर्ने गौतमले अनुरोध गरिन् ।

बाँकेमा ११ जनामा डेंगी देखिएपनि लामो समयसम्म बाहिरी यात्रामा नरहेका गणेशपुरका एक जनामा डेंगी देखिएपछि सचेतनाका लागि कार्यक्रम सुरु गरिएको उपमहानगरपालिका ४ का वडा अध्यक्ष गोपाल पुनले जानकारी दिए ।

पुनका अनुसार समुदाय स्तरमा डेंगी देखिएपछि वडाभर सचेतना अभियान सुरु गरिएको हो । नेपालका ७० वटा जिल्लामा डेंगीका बिरामी भेटिएका छन् । हालसम्म २ हजार ५ सय ३९ वटा केशहरु रिपोर्टिङ भएका छन् ।