कोहलपुर ।
प्रेस सेन्टर नेपाल बाँकेको सातौं बिस्तारीत बैठक सम्पन्न भएको छ । शनिबार कोहलपुरमा बसेको बैठकले बिभिन्न ७ बुँदे निर्णय समेत पारीत गरेको छ ।
बैठकले प्रेस सेन्टर बाँकेको आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको छ । जग्गा खरिद गरेरै भएपनि आफ्नै भवन निर्माण गर्ने निर्णय गरेको बैठकले संगठनका उपाध्यक्ष राजेश आचार्यको संयोजकत्वमा गठित ३ सदस्यीय कमिटीलाई उपर्युक्त स्थानमा जग्गा छनौट गर्ने जिम्मेवारी दिएको छ ।
बैठकले संगठनलाई थप मर्यादित र शसक्त बनाउन केन्द्रिय सर्कुलरको निर्देशनलाई कडाईका साथ लागु गर्ने निर्णय समेत गरेको छ ।
प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षतामा बसेको बैठकको प्रमुख अतिथिका रुपमा आफ्नो मन्तब्य राख्दै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रकी केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सचेतक पार्वती पुन (उषा) ले प्रेस सेन्टर बाँकेलाई देशभरकै उत्कृष्ठ शाखाको रुपमा विकास गनुपर्नेमा जोड दिईन ।
उनले लुम्बिनी प्रदेशभरीमा दाङ पछि बाँकेको संगठन सबैभन्दा चलाएमान भएको भन्दै खुसी समेत ब्यक्त गरीन । प्रेस सेन्टर बाँकेको आफ्नै भवन निर्माण गर्ने निर्णयप्रति ऐकवद्धता जनाउँदै साँसद पुनले भवन बनाउन आफुले आवश्यक पहल गर्ने प्रतिवद्धता समेत जनाएकी छन ।
४५ भन्दा बढी पत्रकारहरुको उपस्थिति रहेको बैठकमा कोहलपुर नगर कमिटीका नव निर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियोे ।
बैठकमा प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव सिराज खान, केन्द्रिय सदस्य एवं बित्त तथा परामर्श समितिका सदस्य सुशील लामिछाने, प्रदेश उपाध्यक्ष प्रदीप वाग्ले, प्रदेश सचिव आलाम खान, प्रदेश सदस्य हेमन्त चौधरी, पालिका स्तरीय अध्यक्षहरु र जिल्ला कार्यसमितिका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।
काेहलपुर टुडे । १९ भाद्र २०७९, आईतवार ०६:१७