दाङमा बस दुर्घटना हुँदा १६ जना घाइते

दाङ ।

पूर्व–पश्चिम राजमार्ग अन्तरगत दाङको लमही नगरपालिका वडा नम्बर ९ स्थित शिवखोलामा बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था मध्यम रहेको छ । अन्य १५ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बर्दियाको मधुवन नगरपालिका ५ बस्ने वर्ष ६२ की गुठी सोनाहाको शरीरमा भित्री चोट लागेको र अवस्था मध्यम रहेको छ । उनलाई उपचारका मेडिकल कलेज कोहलपुर लगिएको छ ।

नारायणघाटबाट बिर्दिया तर्फ जाँदै गरेको ना ६ ख ९६७९ नं. को बस शुक्रबार साँझ साढे ४ बजे दुर्घटनामा परेको हो । ब्रेक फेल भएपछि बस सडकको बायाँ भागमा पल्टिएको प्रहरीले जनाएको छ ।

बसमा अन्दाजी ३० जना यात्रु सवार थिए । प्रहरीले गाडी मालिक र गाडी चालकलाई नियन्त्रणमा लिएको छ ।