निर्वाचन क्षेत्रलाई शैक्षिक हव बनाउँछौं : मन्त्री अथक

कोहलपुर ।

नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री एवं बाँके क्षेत्र नं. १ का संघीय सांसद महेश्वर गहतराज (अथक) ले आफ्नो निर्वाचन क्षेत्रलाई शैक्षिक हव बनाउने प्रतिबद्धता गरेका छन् । उनको लामोसमयदेखि बाँकेमा टिनको छानो हटाई पक्की भवन बनाउने अभियान चलिरहेको छ । सोही अभियान अनुसार मन्त्री अथकले बिहिबार एकैदिन राप्तीसोनारीका विभिन्न वडाका ३ वटा विद्यालयको नवनिर्मित पक्की भवन उद्घाटन गरेका छन् ।

थानीय पुर्वाधार साझेदारी सांसद विकास कोष अन्तर्गत निर्माण भएका विद्यालय भवनहरुको उद्घाटनको क्रममा बोल्दै मन्त्री अथकले आफ्नो निर्वाचन क्षेत्रका विद्यालयहरुमा टिनको छाना हटाई १०० वटा पक्की कोठाहरु निर्माण गराउन सफल भएको बताए । उनले ५०० भन्दा बढि विद्यार्थीहरुलाई पक्की भवनमा ल्याउन सफल भएको भन्दै आगामी दिनमा उक्त अभियानलाई थप प्रभावकारी बनाउने प्रतिवद्धता गरे ।

‘शिक्षा क्षेत्रको सुधार नगरी समग्र विकासले गति लिँदैन, मुख्य प्राथामिकतामा भनेको शिक्षा हो’ उनले भने, ‘अब हरेक विद्यालयलाई प्राविधिकधारमा अध्यापन गराउन जरुरी छ ।’ पहिलो चरणमा निर्वाचन क्षेत्रका ३ वटै पालिकाका ४ वटा विद्यालयमा कृषि र सिभिल ईन्जिजियर तर्फको पठनपाठन सुभारम्भ गरिएको मन्त्री अथकले बताए ।

जस अन्र्तगत मन्त्री अथकले राप्तीसोनारी-६ को जनसिद्धेश्वर बहुमुखी क्याम्पसको १५ कोठे भवन उद्घाटन गरेका हुन् । यस्तै राप्तीसोनारी-६ कमैया डाँडामा रहेको सु–कमैया आधारभुत विद्यालयको २ कोठे भवन र राप्ती सोनारी-३ भवानियापुरमा रहेको सरस्वती माविको ८ कोठे पक्की भवनको समेत उद्घाटन गरिएको मन्त्रीका स्वकिय सचिव दिलिप सोनीले जानकारी दिए ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं नेकपा लुम्बिनी प्रदेश संसदीय दलको सचेतक पार्वती पुन (उषा), प्रेस सेन्टर नेपालका केन्द्रिय सचिव सिराज खान, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, पत्रकार र स्थानीयको सहभागीता रहेको थियो ।