कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला, बम भएको आशंका




कैलाली  ।

कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला परेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडकखण्ड र पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिकै शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शंकास्पद वस्तु भेटिएको जानकारी दिए ।

मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ती शंकास्पद वस्तु राखेको हुनसक्ने डीएसपी जोशीले बताए ।

उक्त शंकास्पद वस्तु निस्क्रिय पार्न नेपाली सेनाको टोली बोलाइएको उनले बताए । बन्दका कारण कैलालीसहित सुदूरपश्चिम प्रदेशका कुनै पनि जिल्लामा लामो तथा छोटो दूरीका सवारी साधन चल्न सकेका छैनन । राति छुटेका गाडीहरुलाई भने प्रहरीले स्कटिङ गरेर गन्तव्यसम्म पठाइरहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ ७ गते मंगलबार