जानकीमा अम्बे स्टिलले खनेको खाल्डोमा डुबेर बालकको मृत्यु




बाँकेको गनापुरस्थित अम्बे स्टिल उद्योगले खनेको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । जानकी गाउँपालिका वडा नम्बर ५ छब्बनपुर्वा निवासी ७ वर्षीय बालक सञ्जु करबलको शनिबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी रामप्रसाद घर्तीमगरले जानकारी दिए ।

घटनाको अनुसन्धान भइरहेको उनले बताए । जानकी गाउँपालिका वडा नम्बर ५ मा अम्बे स्टिलले उद्योग सञ्चालन गर्दै आएको छ । उद्योगले पर्खाल निर्माणका लागि खनेको करिव १० फिट गहिरो खाल्डोमा जमेको पानीमा डुबेर ति बालकको मृत्यु भएको जानकी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष टिकानाथ यादवले बताए ।

‘अम्बे स्टिलको उद्योगले खनेको करिव १० फिट गहिरो खाल्डोमा पानी जमेको थियो, आज बिहान शौच गर्न गएका बेलामा बालकको मृत्यु भयो,’ उनले भने । वडाअध्यक्ष यादवका अनुसार बिहान करिव ५ बजेतिर बालक शौच गर्न निस्केका थिए । घटनाबारे उद्योगले अहिलेसम्म कुनै चासो नदेखाएको वडाअध्यक्ष यादवले सुनाए ।

मृतक बालकका बुवा मुन्सीलाल करबलले अम्बे स्टिलको लापरबाहीका कारण छोराको मृत्यु भएको बताए । ‘उद्योगले खाल्डो खनेर धराप बनाएको थियो, त्यही धरापमा मेरो छोराले अकालमा ज्यान गुमायो,’ उनले भने । घटनाका दोषीलाई कारबाही, पीडित परिवारलाई क्षतिपुर्ति दिनुपर्ने स्थानीयले माग गरेका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ भदौ ४ गते शनिबार