पानीमा देखिएको समस्याबारे बुझ्न खोज्दा पत्रकार माथि हातपात, महासंघको ध्यानाकर्षण

ओसिएन ड्रिङ्किङ वाटर इन्डस्ट्रीजले बजारमा पठाएको प्रशोधित पानी (जार) मा किरा भेटिएपछि सो सम्बन्धमा समाचार संकलन लागि पुगेका पत्रकारलाई समाचार संकलनमा रोक लगाउनुका साथै उनीहरु माथि हातपात समेत गरिएको छ ।

स्पेस फोके टेलिभिजनमा कार्यरत पत्रकार नरेन्द्र महतारा र सुरेन्द्र राउतलाई समाचार संकलनमा रोक लगाई हातपात समेत गरेको टेलिभिजनले जनाएको छ जस पछि चौतर्फी बिरोध हुनुका साथै उक्त घटना प्रति नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ ।

साउन २५ गते बुधबार मनोहरा नगरपालिका ७ मा रहेको उक्त उद्योगमा समाचार संकलनका लागि दिउँसो २ः०० बजेको समयमा पुगेका पत्रकारलाई नेपाल बोटल वाटर उद्योग संघका केन्द्रीय अध्यक्ष ध्रुवगौतम सहित आएका एक समूहले उद्योग परिसरबाट जबर्जस्ती बाहिर निकाल्नुका साथै हातपात समेत गरेको महासंघमा जानकारी प्राप्त भएको जनाएको छ ।

बजारमा पठाइएको पानीमा देखिएको समस्याबारे बुझ्न र सोबारे नागरिकलाई सुसूचित र सचेत गराउन जुटेका पत्रकारमाथि गरिएको यो हर्कत प्रेस स्वतन्त्रता विरोधी कार्य रहेको जनाउदै महासंघले आपत्ति जनाउदै घटनाको कडा शब्दमा भत्र्सना गरेको छ । घटनामा संलग्न माथि कानुनी कारबाही गरी पत्रकारको संवैधानिक अधिकार र स्वतन्त्रताको सम्मान गर्न सम्बन्धित निकाय सँग माग गरेको महासंघका सचिव गोविन्दप्रसाद चौलागाईले जानकारी दिए ।