युवा मेयरलाई युवाको प्रश्न : युवामैत्री नीति खोई ?

कोहलपुर ।

कोहलपुर नगरपालिकालाई युवा नेतृत्व दियौं तर युवामैत्री नीति निर्माण हुन नसकेको एक कार्यक्रममा सहभागी युवाहरूले बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा कोहलपुरमा आयोजित जनप्रतिनिधिसँग युवा विषयक अन्तरक्रियाका सहभागीहरूले यस्तो बताएका हुन् ।

समाज सुधार कार्यक्रम नेपालको आयोजना तथा कोहलपुर नगरपालिकाको सहयोगमा आयोजित अन्तरक्रिया कार्यक्रमका स्थानीय सरकारको निति तथा कार्यक्रममा युवा नितिमार्फत अवसर र स्वरोजगारमूलक कार्यक्रमलाई प्राथमिकता दिन सक्ने युवाहरुले नगर सरकारलाई सुझाव दिएका थिए ।

पछिल्लो समयमा माध्यामिक तहपछि विद्यार्थीहरू उच्च शिक्षा आर्जनका लागि अस्ट्रेलिया, जापान, युके लगायतका मुलुकहरू रोजाईमा पर्ने र अध्ययनको लागि विदेशिएका युवाहरू विदेशी भूमिलाई नै कर्मथलो बनाउँदा दक्ष जनशक्ति मुलुकले गुमाइरहेको भन्दै चिन्ता व्यक्त गरिरहेका थिए ।

सहभागी युवा प्रतिनिधिहरूका प्रश्न, जिज्ञासा तथा सुझावहरूलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्यले नगर क्षेत्रमा रहेका युवा पुस्ताहरूको विषयमा स्थानीय सरकार संवेदनशील रहेको बताए ।

उनले नीति तथा कार्यक्रममा युवालक्षित कार्यक्रम सञ्चालन गरेर सीप र योग्यता अनुसारका युवाहरूलाई स्थानीयस्तरमै सीपमूलक तथा रोजगारमूलक कार्यक्रम तथा गतिविधिहरू सञ्चालन हुने प्रतिबद्वता जनाएका छन् ।

नगर प्रमुख आचार्यले रोजगार बैंकको अवधारणाअनुसार कोहलपुरमा रोजगार बैंक स्थापना गरेर रोजगारीको अवसर सिर्जना गर्नका लागि नीति तथा कार्यक्रममा धेरै युवामैत्री नीति समावेश गरेको बताए ।

नगर क्षेत्रभित्र सञ्चालनमा रहेका उद्योगहरूमा स्थानीयले रोजगारीको लागि पहिलो प्राथमिकता पाउने गरी स्थानीय सरकारले अधिकार प्रयोग गर्ने बताए ।

कार्यक्रममा कोहलपुर नगरपालिका उप–प्रमुख संगीता सुवेदी, राष्ट्रिय युवा परिषद् बाँके अध्यक्ष खेमराज शर्माले अन्तरक्रियामा उठेका विषयहरूमा आफ्नो धारणा राखेका थिए ।

नगरस्तरीय युवा क्लब सञ्जालका अध्यक्ष रमेश वरको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा आयोजक संस्थाका सचिव शंकर न्यौपानेले कार्यपत्र प्रस्तुत गरेका थिए ।

सो कार्यक्रममा सामाजिक विकास समितिका संयोजक ईश्वरी विश्वकर्मा, कोहलपुर वडा नम्बर १ का वडा अध्यक्ष बद्रि प्रसाद जैसी र १३ का वडा अध्यक्ष डम्बर बहादुर खड्का लगायत युवाहरुको सहभागिता रहेको थियो ।