पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । रौतहटमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आउँदो एक वर्षभित्र एमालेको सरकार बनाएर देखाउने दाबी गरेका हुन् ।
ओलीले तराई मधेसका जिल्लाहरू बर्सेनि कटान, डुबान र बाढीको समस्या झेल्दै आएकाले आफूले भारतीय प्रधानमन्त्रीसँग कुरा गर्दा समाधान गर्ने आश्वासन दिए पनि अहिलेको सरकारले कुनै वास्ता नगरेको आरोप लगाए । उनले भने,‘सीमावर्ती क्षेत्रमा बनाइएको बाँधको कारण नेपाली भूभाग डुबान परिरहेको हुँदा त्यसको स्थायी रूपमा सधान गर्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमक्ष पहल गरेको थिएँ । तर हामी सरकारबाट हटेपछि अहिलेको सरकारबाट निरन्तरता नहुँदा नेपाली क्षेत्र डुबानमा परेको छ ।’
शिक्षा, स्वास्थ्य, खानेपानी, विद्युत्, कृषिको आधुनिकीकरणदेखि लिएर विभिन्न योजनाहरुलाई विशेष प्राथमिकतामा दिएर सञ्चालनमा राखे पनि एमालेको सरकार हटेपछि उक्त योजनाहरुलाई ओझेलमा पारिएको उनले जिकिर गरे ।
कार्यक्रममा लोसपाका केन्द्रीय सदस्य तथा गौर नगरपालिकाको पूर्व मेयर अजयकुमार गुप्ता, लोसपाबाट संविधान सभा सदस्य भएकी चन्दन साह, नेपाली काँग्रेसको जिल्ला सचिव राजेश चौधरीसहित कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका छन् । ओलीले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै संगठन विस्तार र आउँदो निर्वाचनतर्फ ध्यान केन्द्रित गर्न आग्रह गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्