अज्ञात समूहद्धारा मल्लमाथि अभद्र व्यवहार

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिका-११ मा सञ्चालनमा रहेको बृहत साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष नरबहादुर मल्लमाथि अज्ञात समुहले अभद्र व्यवहार गरेको छ ।

सोमबार करिब दिउँसो १ बजेको समयमा कार्यालय आएको ४ जना अज्ञात समुहले कालोमोसो दलेर अभद्र व्यवहार गरी फरार भएका छन् । सो अभद्र व्यहार गरी फरार भएका ४ जना अज्ञात समूहलाई खोेजी कार्य जारी रहेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख ऐनबहादुर मल्लले बताए ।

उपभोक्ता संस्थाका एक कर्मचारीले भने, जुत्ता नफुकाली अध्यक्षको कोठामा छिरे । केही मिनेटमा नै बाहिर निस्किए । तर अध्यक्ष मल्ललाई अभद्र व्यवहार गरी निस्किएका रहेछन् ।

हामीलाई थाहा भएन । अध्यक्ष ज्यूले फोन गरी आफ्नो कक्षमा बोलाएपछि मात्र थाहा भयोे । अध्यक्षको कक्षमा जाँदा बाहिरबाट चुकुल लगाई फरार भएका रहेछन् । ‘तुरुन्तै प्रहरीलाई खबर भयो तर प्रहरी समयमा नै आइपुगेन, स-साना बच्चा जस्ता देखिन्छन् तर को हुन् भन्ने ठम्माउन सकिन ?’ उनले भने ।

अध्यक्ष मल्लले भने, सधै झै उपभोक्ता आएका हुन् की भन्ने लाग्यो तर अपराधिक मनसाय बोकेर आएका रहेछन् । उपभोक्ताले पैसा तिरे पनि पानी उपभोग गर्न नपाएको गुनासो गर्न आएको जस्तो गरेर अभद्र व्यवहार गरी फरार भएको मल्ले बताए । अध्यक्ष मल्लमाथि कालोमोसो दलेको घटनाको कसैले पनि जिम्मा लिएको छैन ।