सिस्ने गाउँपालिकाले शैक्षिक तथा भौतिक सुधारको लागि स्थलगत अनुगमन जारी

सुदाम शर्मा । रुकुम(पूर्व)

रुकुम(पूर्व)को सिस्ने गाउँपालिकाले शैक्षिक तथा भौतिक सुधारको लागि स्थलगत अनुगमन जारी राखेको छ ।

साउन १६ गतेबाट सुरु गरिएको विद्यालय अनुगमन तथा अन्तरक्रिया कार्यक्रम आज चौथो दिन वडा नम्बर ६ को त्रिभुवन जनता माध्यमिक विद्यालय छिप्रीदहको स्थलगत अनुगमन गर्नुका साथै अन्तरक्रिया सम्पन्न भएको छ ।

गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा शिक्षालाई पहिलो प्राथमिकतामा राखेसँगै पालिकाभित्र रहेका सामुदायिक विद्यालय भएका समस्या र समाधानको लागी उक्त कार्यक्रमको सुरु गरिएको हो ।

अनुगमन तथा अन्तरक्रियाका क्रममा त्रिभुवन जनता माध्यमिक विद्यालय छिप्रीदहमा विद्यार्थी संख्या बढी भएकोले र विद्यार्थीको तुलनामा भौतिक संरचनाको अवस्था कमजोर देखिएको छ ।

त्यस्तै बिषयगत र तहगत शिक्षक नभएको, अभिभावकको विद्यालय र बालबालिका प्रति त्यति चासो चिन्ता नदेखिएको, आवश्यकताअनुसार शिक्षकहरुलाई तालिमको व्यवस्था नभएको पाईएको छ  ।

अनुगमनमा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी, उपाध्यक्ष गोपाल रेउले, मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रमका जिल्ला संयोजक दुर्गा गौतम, वडा नम्बर ६ का वडाध्यक्ष पुर्णजङ मल्ल लगाएत शिक्षक, विद्यालय व्यवस्थापन समितिको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सहजीकरण शिक्षा युवा तथा खेककुद शाखा प्रमुख मङगलसिहं बुढाले गरेका थिए ।