४ मंसिरको चुनावमा ५ लाख नयाँ मतदाता थपिने




मंसिरमा हुने संघीय र प्रदेश सभा चुनावमा ५ लाख नयाँ मतदाता थपिने भएका छन् । गत वैशाखमा भएको स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७२३ जना मतदाता थिए । त्यसमा अब करिब ५ लाख नयाँ थपिने छन् ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार, असार १ गतेदेखि सुरु भएको मतदाता नामावली संकलनमा करिव साढे ४ लाख जनाले नाम दर्ता गरेका छन् ।

पछिल्लो २/३ दिन यताको अद्यावधिक विवरण नआएकाले त्यो संख्या अधिकतम ५ लाख पुग्ने निर्वाचन आयोगका प्रवक्ता शालिकराम पौड्यालले बताए । ६ महिना अघिसम्म मतदाता नामावली संकलन भएकाले यो अवधिमा निकै थोरैमात्रै नयाँ नाम संकलन भएको हो ।

आयोगले १ असारदेखि यसअघिका मतदाताहरुलाई स्थायी बसोबास सारेको भए नामावली पनि सार्ने सुविधा दिएको थियो । त्यस अन्तर्गत केहीले सुविधा लिएको तर संख्या यकिन नभएको आयोगको भनाइ छ ।

आयोगले उनीहरुको विवरण छुट्टै राख्छ । स्थानीय तहबाट मृत्युदर्ता गरेकाहरुले लगत समेत घटाउन हुनाले मतदाताहरुको संख्या एकीन गर्न अझै केही दिन लाग्ने आयोगले जनाएको छ ।

सरकारले निर्वाचनको मिति घोषणा गरेकाले शुक्रबारदेखि नामावली संकलनको काम रोकिने आयोगले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ साउन १९ गते बिहीबार