बाँसगढीमा एक छोरी, एक बैंक खाता कार्यक्रम कार्यान्वयन हुदै

रावन विश्वकर्मा,
बर्दियाको बाँसगढी नगरपालिकाले “एक छोरी, एक बैंक खाता” कार्यक्रम सञ्चालन गर्ने भएको छ । छोरीहरुको आर्थिक तथा सामाजिक सुरक्षाका लागि नगरपालिकाले यो बर्ष देखी “एक छोरी, एक बैंक खाता” कार्यक्रम लागु गर्ने भएको हो । ११ औँ नगरसभाबाट स्वीकृत भएको “एक छोरी, एक बैंक खाता” कार्यक्रम कार्यान्वयनको लागि बाँसगढी नगरपालिकाले नगर क्षेत्रमा रहेका बैंकहरुलाई प्रस्ताव पेशको लागि आह्वान समेत गरेको छ । सोमबार एक सुचना प्रकाशित गर्दै बाँसगढी क्षेत्रका छोरीहरुको हाल ५ हजारको खाता खोली १६ बर्ष सम्म सञ्चालन गर्दा उक्त खातामा के कस्ता अधिकतम सुविधाहरु प्रदान गर्न सकिन्छ सो को प्रस्ताव सहित बाँसगढी नगरपालिकाको कार्यालयमा सुचना प्रकाशन भएको ७ दिन भित्र लिखित रुपमा पेस गर्न अनुरोध गरेको छ । प्रकाशित सुचनामा बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रेम बहादुर केसीको हस्ताक्षर छ । “एक छोरी, एक बैंक खाता” कार्यक्रमका लागि बाँसगढी नगरपालिकाले यो बर्ष २० लाख रुपैया विनियोजन गरेको छ । बैंक खाता छोरीलाई, सुरक्षा जीवनभरीलाई भन्ने नारालाई मुर्त रुप दिन कार्यक्रम सञ्चालन गरी नगर क्षेत्रमा जन्मिएका छोरीहरुको उचित शिक्षा, स्वास्थ्य तथा पोषणको पाटोमा टेवा पुग्ने अपेक्षा समेत नगरपालिकाले लिएको छ ।