स्थानिय पाठ्यक्रम ‘हाम्रो कोहलपुर’ विमोचन

कोहलपुर ।

कोहलपुर नगरपालिकाको आधारभुत तह (१-८) को स्थानिय पाठ्यक्रम ‘हाम्रो कोहलपुर’ बिमोचन गरेको छ । बिहिबार नगरपालिकाको सभाहलमा आधारभुत तह (१-८) को स्थानिय पाठ्यक्रम ‘हाम्रो कोहलपुर’ बिमोचन गरेको हो ।

कोहलपुर नगरपालिकाका तत्कालिन प्र्रमुख लुट बहादुर रावत, वर्तमान नगर प्रमुख पूर्ण प्रसाद आचार्य, बाँकेका पूर्व जिल्ला शिक्षा अधिकारी जित बहादुर शाह, कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल र नगर शिक्षा शाखाका प्रमुख रवि मिजारले संयुक्त रुपमा बिमोचन गरेका थिए ।

पहिलो जनप्रतिनिधिहरुले स्थानीय पाठ्यक्रम निर्माण गरी बिमोचन गर्ने सोही अनुसार पुस्तक समेत प्रकाशन गर्ने भनिएतापनि सफल हुन सकेन । तर योजना निकै राम्रो र उत्कृष्ट थियो । सोही योजनालाई ४५ दिनमा नै नगर प्रमुख पूर्ण प्रसाद आचार्यले पुरा गरेका छन् ।

कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले शिक्षामा बढि लगानी गर्ने र त्यसको प्रतिफल प्राप्तीका लागि निरन्तर विद्यालयहरुमा अनुगमन भइरहेको बताए ।

‘अहिले विद्यालयमा अनुगमन गइरहेको छु,’ उनले भने, ‘के कस्तो अवस्था छ ? बुझिरहेको छु सोही अनुसार बजेट पनि विनियोजन गर्ने र शिक्षकहरुको थप गर्ने योजना छ ।’ अहिले स्थानीय सरकारले पहिलो प्राथमिकता शिक्षालाई दिएको छ, त्यसैले कोहलपुरको शैक्षिक हव बनाउन कोहलपुरबासी सबैको साथ सहयोग र सुझावको आवश्यक रहेको नगर प्रमुख आचार्यले बताए ।

‘अब जति सक्यो छिटो स्थानिय पाठ्यक्रम अनुसारको पुस्तक लेखन कार्य अगाडि बढ्छ’ उनले थपे, ‘त्यसको लागि के के आवश्यकता पर्दछ यहाँहरुको सुझाव अनुसार काम गर्नेछु ।’ यदि पाठ्यक्रम मात्र बनाउने र पुस्तक नबनाउने हो भने यसको उपलब्धी नहुने भएकोले तुरुन्तै पुस्तक बनाउने प्रतिबद्धता व्यक्त गरे ।

यस्तै कोहलपुर नगरपालिकाका पूर्व नगर प्रमुख लुट बहादुर रावतले आफुले बनाएको योजना सफल भएकोमा धन्यवाद दिए । ‘नगरपालिकाले पाठ्यक्रम बनाउनु ५० प्रतिशत काम हुनु हो’ उनले भने, ‘अब पुस्तक निर्माण गरी बालबालिकाको हातहातमा पुगेपछि शत प्रतिशत काम हुनु हो ।’ कोहलपुरका सामुदायिक र संस्थागत विद्यालयहरुले यो पाठ्क्रम अनुसार अध्यापन गराउनका लागि अनुरोध समेत गरे ।

यस्तै कार्यक्रममा स्थानिय पाठ्यक्रम निर्माणको जिम्म पाएका शिक्षा विज्ञ तथा बाँकेका पूर्व जिल्ला शिक्षा अधिकारी जितबहादुर शाहले कोहलपुरको स्थानीय पाठ्यक्रम ७ वटा विषयलाई समेटेर निर्माण भएको बताए । ‘यसले विशेष गरेर कोहलपुर नगरपालिकाको परिचय, संस्कृति र सम्पदा, पेशा र व्यवसाय, प्रविधि, विकासका पुर्वाधार, खुसीका लागि शिक्षा र जीवनोपयोगी सिप, हाम्रो वातावरण र विपद् व्यवस्थापनका विषयमा जोड दिएको छ,’ उनले भने, ‘यसमा आर्गनिक अथवा गाउँटोलमा बोलिने भाषा, स्थानिय विषयमा जानकारी भएको व्यावहारीक र प्रयोगात्मक तरिकाले विद्यार्थीहरुलाई सिकाउन सकिने किसिमको छ ।’ धेरै स्थानीय तहमा पाठ्क्रम निर्माण गरे तर कोहलपुर नगरपालिकाको जस्तो उत्कृष्ट नभएको दावी समेत गरे ।

यस्तै शिक्षा विकास समन्वय इकाई बाँकेका प्रमुख राम शुरेस यादवले कतिपय स्थानिय निकायले स्थानिय पाठ्यक्रमको नाममा अंग्रेजी, कम्प्युटर लगायतका विषय वढाउने गरेकोे बताए । ‘बाँकेका राप्तीसोनारी, खजुरा र कोहलपुर गरी तीन पालिकाले स्थानीय पाठ्यक्रम निर्माण गरेका छन्,’ उनले भने, ‘स्थानिय पाठ्यक्रम पनि अतिनै महत्वपूर्ण विषय हो ।’ यसले बालबालिकाहरुलाई स्थानिय विषय वस्तुको बारेमा राम्रो जानकारी गराउने यादवले बताए ।

यस्तै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले पाठ्क्रम तयार भैसकेकोले तत्काल सबै विद्यालयहरुमा प्रयोग गर्न आग्रह गरे । कोहलपुर नगरपालिकाले ४५ दिनमा स्थानिय पाठ्यक्रम निर्माण गरेको हो ।

यस्तै कोहलपुर नगर शिक्षा शाखा प्रमुख रविलाल मिजार, जनप्रतिनिधि, सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानअध्यापकहरुको उपस्थिति रहेको थियो ।