गाउँमा गाडी जाने सडक छैन, बाटैमा बच्चा जन्माउन बाध्य सुत्केरी आमा

दाङ, साउन ७ ।

दाङको राप्ती गाउँपालिका लुम्बिनी प्रदेशको स्थायी राजधानी हो । तर राजधानी भित्रका नागरिकको पीडा भने कहालीलाग्दो छ । राप्ती गाउँपालिकामा ९ वटा वडा छन् । जसमध्ये वडा नं ९ विकट वडा हो । यस वडाका नागरिक आधारभूत आवश्यक्ताबाट समेत बञ्चित छन् ।

जसले गर्दा एउटा सुत्केरी आमाले सडकमै बच्चा जन्माउनु परेको छ । यो भन्दा अर्को कहालीलाग्दो घटना के होला ? शुक्रबार वडा नं–९ चिसापानीकी १९ वर्षीया देवकला बुढाले बाटैमा बच्चा जन्माउन बाध्य भएकी हुन ।

बुढालाई शुक्रबार विहान सुत्केरी बेथा लाग्यो । परिवार र आफन्तले गाउँबाट करिब २० किलोमिटर टाढा रहेको प्रस्तावित भालुवाङ अस्पताल लग्ने तयारी गरे । तर कसरी? प्रश्न थियो । गाउँमा सडक भएपनि सडकमा गाडी गुड्न सक्ने अवस्था छैन ।

अनि घर परिवारले बोकेरै भएपनि अस्पताल प¥याउने योजना बनाए । विहान करिव ११ बजे परिवार र आफन्तले देवकलालाई डोलामा राखेर अस्पताल लग्दै थिए । सीमसीमे पानी पनि परिरहेको थियो । देवकलालाई बेथाले झन् पछि झन् च्याप्दै गयो ।

अन्तत अस्पताल पु¥याउन नपाउँदै देवकलाले ११ः४० बजेको समयमा बीच बाटोमै बच्चालाई जन्म दिइन । बच्चा त जन्मियो अब अस्पतालसम्म कसरी पु¥याउने भन्ने चिन्ता परिवार र आफन्तलाई प¥यो । गाउँ नजिक नव–निर्वाचित राप्ती गाउँपालिका वडा नम्बर २ की वडा सदस्य समेत रहेकी स्वम्सेविका पिमा गाहा मगर पनि साथमा थिइन् ।

उनैको पहलमा जसोतसो पानीमा भिज्दै १२ः१५ बजेको समयमा भालुवाङ अस्पताल पु¥याए । त्यहाँ आमा र बच्चाको स्वास्थ्य परिक्षण गरियो । धन्न आमा र बच्चाको अवस्था सामान्य थियो । बच्चाको तौल ३ किलो रहेछ ।

आमा भने सानै उमेरमा विवाह गरेका कारण र अस्पतालसम्म बेलामै पु¥याउन नसक्दा रगत अलि बढी बगेको अस्पतालका सिनियर अहेव भुवन भण्डारीले जानकारी दिए । उनको अवस्था सामान्य भए पछि अस्पतालले बेलुका ६ः१५ बजे डिस्चार्ज ग¥यो । देवकलाले यो दोस्रो सन्तानको रुपमा बच्चा जन्माएकी हुन् ।

देवकलाले जस्तो अर्को पटक सुत्केरी आमाले दुःख पाउँदैनन्– अध्यक्ष विष्ट

राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले वडा नं ९ का सुत्केरी आमाहरुले अर्को वर्षबाट देवकलाले जस्तो दुःख नपाउने बताए । उनले ९ नम्बर वडामा अघिल्लो सरकारले बाटोको स्तरउन्नति गर्न नसकेको भन्दै आफूहरु आइसकेपछि अब बाटोको स्तरउन्नती गरिने र अर्को वर्षबाट एम्बुलेन्स सेवा सञ्चालन गरिने बताए ।

वडा नं ९ मा एउटा स्वास्थ्य इकाई रहेको छ । तर सबैलाई पायक पर्ने स्थानमा छैन । फेरि अर्को स्वास्थ्य ईकाई स्थापना गर्नका लागि यस वर्ष आफूहरुले १० रुपैयाँ बजेट छुट्याएको उनले जानकारी दिए ।
‘वडा नं–९ मा २०६४ सालमा खोलिएको सडक हुन । अघिल्लो सरकारले बाटो बनाउन ध्यान दिएन, स्वास्थ्य इकाई बनाउन ध्यान दिएन,’ अध्यक्ष विष्टले भने, ‘हामी भर्खर आएका छौँ, अर्को स्वास्थ्य चौकी स्थापना गर्छौँ र सडकको स्तरउन्नती गरेर वर्षायाममा एम्बुलेन्स सेवा सञ्चालन गर्ने काम गर्छौँ ।’

दाङमा यस्ता बस्ती अरु पनि छन्

देवकला जस्तै आधारभूत सेवा नपाएका दाङका कयौँ बस्तीहरु रहेका छन् । दाङमा घोराही र तुलसीपुर उपमहानगरपालिका छन् । यी उपमहानरपालिका भित्रैका कयौँ बस्ती आधारभूत सेवासुविधाबाट बञ्चित रहेका छन् ।

घोराहीको १९ नं वडासँगै, ५, १ का केही बस्तीहरु वर्षायाममा गाडी गुड्न सक्ने अवस्था छैन । तुलसीपुरको पहाडी भेगसँगै, शान्तिनगर, बबई गाउँपालिका बस्तीहरु पनि आधारभूत सेवासुविधाबाट बञ्चित रहेको अवस्था छ ।

देउखुरी क्षेत्रको राजपुर, गढवाको भारतीय सीमा क्षेत्रसँग जोडिएका बस्तीहरु पनि विभिन्न आधारभूत सेवासुविधाबाट बञ्चित छन् । तर सरकारको ध्यान खासै पुग्न सकेको छैन ।