कोहलपुरमा बसको ठक्करबाट एनटिभीका थापाको मृत्यु

कोहलपुर ।

बाँकेको कोहलपुरको बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

बुधबार बेलुका नेपालगन्ज मेडिकल कलेज कोहलपुरको भे १ क १२५ नम्बरको बसले ठक्कर दिँदा भे ४ प ३२५३ नम्बरको मोटरसाइकल चालक अन्दाजि ६० वर्षिया राम बहादुर थापाको मृत्यु भएको हो ।

होटेल अतिथि नजिकैको चोकमा बसले मोटरसाइकललाई ठक्कर दिएको थियो । बसका चालक बैजनाथ गाउँपालिका १ चिसापानीका पदम बहादुर बुढाले चलाएका थिए ।

बसको ठक्करबाट मोटरसाइकल चालक कोहलपुर नगरपालिका– ११ एनटिभीका ६० वर्षीय रामबहादुर थापा गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी ऐन बहादुर मल्लले जानकारी दिए । बसलाई ईलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको मल्ले बताए ।

प्रहरीका अनुसार घाइते भएका थापालाई उपचारको लागि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको थियो । मेडिकल कलेजमा पुर्‍याएको केहीबेरमा नै मृत्यु भएको चिकित्सकहरुले प्रहरीलाई जानकारी दिएका थिए ।