दाङमा अतिक्रमित जमिनमा रोपियो २ लाख बिरुवा

दाङ, असार ।

वर्षा सुरु भएसँगै दाङमा करिब दुई लाख बिरुवा रोपिएको छ । जिल्लाका कबिर २ सय हेक्टर खाली जमिनमा २ लाख बिरुवा रोपिएको डिभिजन वन कार्यालय दाङका अधिकृत मोहनप्रसाद श्रेष्ठले जानकारी दिए ।

संरक्षणमुखी बृक्षरोपण कार्यक्रम नै शुरु गरेर करिब २ लाख बिरुवा रोपिएको उनको भनाई छ । वर्षेनी बिरुवा लगाइने तर हर्काउन चुनौति बढ्दै गएपछि यस वर्षबाट संरक्षणमुख बृक्षरोपण कार्यक्रम थालिएको श्रेष्ठले बताए ।

संरक्षमुखी कार्यक्रम अनुसार अतिक्रमित वन क्षेत्र खाली गरेर बिरुवा रोपिएको हो । जसअनुसार घोराहीको मघै, रामपुरको चरिङ्गेदह, तलसीपुरको कटकुइया, भ्यूडर, सुनपुर र बबई गाउँपालिकामा गरी ९ हेक्टर वनमा ताराबार सहितको बृक्षरोपण गरिएको छ ।

डिभिजन वन कार्यालयका सूचना अधिकारी खिमबहादुर केसीका अनुसार तुलसीपुरको मोतीपुर, दंगीशरणको सिमठाना र महालक्ष्मी, घोराही–१० नारायणपुरको सरजुगंगा र बबइ नदी, अम्विकेश्वरीको क्वाडी र शान्ति सामुदायिक वन क्षेत्रको करिब २० हेक्टर नदीले कटान गरेको क्षेत्रलाई तारबार गरी बृक्षरोण गरिएको छ ।

डिभिजन वन कार्यालयले एक पालिका एक कृषि अबको अवधारणा अनुसार स्थानीय किसानहरुलाई सहभागी गराई दाङको घोराही र तलसीपुर उपमहानगरपालिका, बंगलाचुली, शान्तिनगर र दंगीशरण गाउँपालिका गरी ५ वटा पालिकाका १० हेक्टरका दरले ५० हेक्टरमा कृषि वन बनाउने काम गरेको छ ।