बाँसगढी नगरकार्यपालिका निर्वाचन, काँग्रेस र माओवादीबाट ४/४ जना निर्वाचित

रावन विश्वकर्मा ।

बर्दियाको बाँसगढी नगरकार्यपालिका सदस्य निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसबाट ४/४ जना निर्वाचित भएका छन् । ८ सदस्यको लागि सोमबार भएको कार्यपालिका सदस्य निर्वाचनमा ५ जना महिला सदस्य र ३ जना दलित तथा अल्पसंख्यक गरी ८ जना निर्वाचित भएको छन् । महिला कार्यपालिका सदस्यमा नेकपा माओवादी केन्द्रबाट जेनिसा वली र बुद्धिमाया सार्की निर्वाचित भएका छन भने नेपाली काँग्रेसबाट मनिता चौधरी, राधिका रावत र सरिता तिवारी निर्वाचित भएको छन् ।

त्यस्तै दलित तथा अल्पसंख्यक कार्यपालिका सदस्यमा नेकपा माओवादी केन्द्रबाट भद्र बहादुर परियार र याम बहादुर सुनार निर्वाचित भएका छन भने नेपाली काँगेसबाट गगंन सिंह विक निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बाँसगढीका सहायक निर्वाचन अधिकृत डिल्लीराम आचार्यले बताउनु भयो । नगरकार्यपालिका निर्वाचनको लागि नेकपा माओवादी र नेपाली काँग्रेस विच गठबन्धन भएको थियो भने नेकपा एमालेले एक्लै प्रतिस्पर्धा गरेको थियो ।

५ जना महिला कार्यपालिका सदस्यका लागि १० जनाको उम्मेदवारी परेको थियो भने ३ जना दलित तथा अल्पसंख्यक कार्यपालिका सदस्यका लागि ६ जनाको उम्मेदवारी परेको थियो । निर्वाचित कार्यपालिका सदस्यहरुलाई सोमबा नै निर्वाचन अधिकृतको कार्यालय बाँसगढीका निर्वाचन अधिकृत उमाकान्त अधिकारीले प्रमाण पत्र प्रदान गर्नुभयो ।

नगरपालिकामा निर्वाचित भएका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र सदस्य रहने नगर सभा सदस्य मध्ये ५ जना महिला तथा दलित अल्पसंख्यक समुदायबाट ३ जना सदस्यको निर्वाचन गरि कार्यपालिकालाई पुर्णता दिनुपर्ने कानुनी प्रावधान छ । बाँसगढी नगरकार्यपालिकामा नेकपा माओवादी केन्द्रबाट ७ जना, नेपाली काँग्रेसबाट पनि ७ जना र नेकपा एमालेबाट ५ जनाको प्रतिनिधित्व रहने छ ।