विश्वविद्यालयलाई सभ्यता र उत्पादनको केन्द्र बनाउनु पर्छ : उपकुलपति प्रा.डा. सिंह




कोहलपुर  ।

मध्यपश्चिम विश्वविद्यालयले वीरेन्द्रनगर सुर्खेत केन्द्रीय कार्यालयमा समसामयिक विषय सम्बन्धी अभिमूखीकरण कार्यक्रम सम्पन्न गरेको छ । विश्वविद्यालयद्वारा लिइएको पछिल्लो सत्रान्त परीक्षाको नतिजा विश्लेषण सहित समग्र परीक्षा प्रणाली सुधारका लागि समीक्षात्मक गरी शैक्षिक गुणस्तर कायम गर्न गराउनका लागि विश्वविद्यालयका मुख्य कार्यान्वयनकर्ताहरुका बीच छलफल तथा अभिमूखीकरण सोमबार गरिएको हो ।

विभिन्न संकायका डीन, निर्देशक, परीक्षा ब्यबस्थापन प्रमुख, सभाको वैठकद्वारा ग्रेजुएट स्कूलमा परिणत भैसकेका केन्द्रीय क्याम्पसका प्रमुख, कार्यक्रम निर्देशक, विभागीय प्रमुख लगायत सहभागी कार्यक्रममा प्रशिक्षणात्मक एवं निर्देशनात्मक मन्तव्य राख्दै प्रमुख अतिथि उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहले विश्वविद्यालयले आफ्नो विश्वब्यापी मान्यतामा अडिग रही समाजको राष्ट्रिय, प्रादेशिक एवं स्थानीय माग र आवश्यकतालाई सम्बोधन गर्नुपर्ने बताए । प्रा.डा. सिंहले सरकारी विश्वविद्यालय भएतापनि सँधैभर सरकारसँग मुख नताकी विश्वविद्यालयलाई अध्ययन, अनुसन्धान तथा उत्पादनसँग जोड्दै आत्मनिर्भरताको दिशातर्फ लैजाने गरी काम गर्न निर्देशन दिए ।

उपकुलपति सिंहले विश्वविद्यालयलाई सभ्यताको केन्द्र बनाउने गरी सबैखाले विकृति, विसंगतिबाट मुक्त गर्न शून्य सहनशीलताको नीति अख्तियार गरेको र त्यसको कार्यान्वयनमा कुनै पनि किसिमको दबाब, प्रभावमा नपर्न उल्लेख गरे ।

‘शैक्षिक, प्रशासनिक जनशक्तिको कार्यक्षमतामा अभिवृद्धि गर्ने प्रयास स्वरुप दण्ड र पुरस्कारको मान्यतालाई आत्मसात गरी थुप्रै योजनाहरु अघि सारेको छु’ उनले भने’, ‘कर्णाली लगायत मुलुककै रोग, भोक, अभाव, गरिबी र पछौटेपनलाई निमिट्यान्न पार्ने साधकका रूपमा विश्वविद्यालय बनाउने अभियान अन्तर्गत चालु वर्षलाई प्राज्ञिक उत्कृष्टता एवं भौतिक पूर्वाधार विकासको वर्षको रूपमा घोषणा गरिएको छ ।’

उपकुलपति सिंहले सेमेष्टर प्रणाली अवलम्बन गरेको विश्वविद्यालयको हालको नतिजा प्रतिशत निकै दयनीय रहेको, कक्षा सञ्चालन प्रभावकारी हुन नसकेको भन्दै आगामी दिनमा अपेक्षाकृत सुधार गर्न सम्बन्धित सबैलाई निर्देशन दिएका थिए । यस्तै कार्यक्रमको अध्यक्षता गरेका रजिष्ट्रार प्रा.डा. नारायण प्रसाद पौडेलले सरोकारवाला सबै पक्षको साथ, सहयोगमा विश्वविद्यालयलाई शैक्षिक उत्कृष्टताको केन्द्र बनाउन सकिने विश्वास व्यक्त गरे ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ ९ गते सोमबार