शिक्षकको नयाँ पोशाक तोकियो




काठमाडौं ।

सामुदायिक विद्यालयमा कार्यरत शिक्षकको पोशाक परिवर्तन हुने भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले सूचना जारी गर्दै चालु शैक्षिक सत्रदेखि नयाँ पोशाक तोकिएको जानकारी दिएको छ ।

खैरो गाढा रङको पाइन्ट र कोट, हल्का नीलो रङको सर्ट, खैरो गाढा रङको ज्याकेट,कलेजी रङको स्वेटर र कालो जुत्तालाई शिक्षकको पोशाकका रुपमा तोकिएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जनाएको छ ।

त्यस्तै साडी, ब्लाउज, कुर्ता सुरुवालको रङ भने परिवर्तन गरिएको छैन । यसअघि कालोमा सेतो धर्का भएको कोट र पाइन्ट तथा हल्का नीलो रङको सर्टलाई पोशाकका रुपमा तोकिएको थियो । शिक्षकहरुकै माग अनुसार पोशाक परिवर्तन गरिएको शाखाले जनाएको छ । यसअघि तोकिएको पोशाक अधिकांशले मन नपराई नियमित नलगाउने गरेपछि परिवर्तन गर्नुपर्ने माग राखेको नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले बताइन् ।

पोशाक खरिदका लागि सरकारले शिक्षकलाई वार्षिक रुपमा प्रतिव्यक्ति दश हजार रुपैयाँ पाउँदै आएका छन् ।

शाखाले पोशाकको नमुना नेपाल शिक्षक महासंघबाट लिन सक्ने जनाएको छ । शुक्रबार साँझसम्म मात्रै पोशाकको नमुना तयार हुने शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।

हेर्नुहोस् सूचना

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ जेठ ६ गते शुक्रबार