स्थानीय तह निर्वाचनका लागि आजदेखि उम्मेदवारहरुको मनोनयन प्रक्रिया शुरु हुँदैछ । निर्वाचन आयोगले ११ र १२ वैशाख (आज र भोलि)का लागि देशभरका मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा मनोनयनको मिति तोकेको हो । आज बिहान १० बजेदेखि भोलि अपरान्ह ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारहरुले आफ्नो नाम मनोनयन गर्न पाउनेछन् ।
देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्र रुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ । ७५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् । यी सबै तहमा प्रमुख तथा मेयर र उपप्रमुख तथा उपमेयर पदका लागि मनोनयन हुनेछ ।
त्यसैगरी देशभरका स्थानीय तहमा ६७४३ वडाहरु छन् । हरेक वडाका लागि एकजना वडाध्यक्ष, दुईजना वडा सदस्य, एकजना महिला सदस्य र एकजना दलित महिला सदस्यका लागि मनोनयन दर्ता हुनेछ । देशभरका स्थानीय तहमा निम्न पदमा मनोनयन हुनेछ–
पालिका पद कुल संख्या
नगरपालिका मेयर २९३
उपमेयर २९३
गाउँपालिका अध्यक्ष ४६०
उपाध्यक्ष ४६०
वडा तह अध्यक्ष ६७४३
वडा सदस्य १३४८६
महिला सदस्य ६७४३
दलित महिला सदस्य ६७४३
कुल जनप्रतिनिधि संख्या ३५२२१
निर्वाचन आयोगले मनोनयन दर्ताका लागि मापदण्ड तोकेको छ । उम्मेद्वार हुन नेपाली नागरिक हुनुपर्ने पहिलो शर्त छ । साथै २१ वर्ष पूरा भएको, आफ्नो क्षेत्रमा मतदाना नामावली भएको र कुनै कानूनले अयोग्य नभएको हुनुपर्नेछ । त्यसका साथै आयोगले स्थानीय तह निर्वाचन ऐन २०७३ मा भएको व्यवस्था अनुसार उम्मेद्वार बन्नका लागि अरु मापदण्डहरु पनि तोकेको छ ।
यसका साथसाथै पद अनुसार उम्मेद्वारहरुले फरक–फरक खालका कागजात पेश गर्नुपर्छ । प्रमुख तथा उपप्रमुखमा मनोनयन दर्ता गर्ने उम्मेद्वारहरुले ९ प्रकारका कागजात र वडाध्यक्ष तथा सदस्यहरुले ९ प्रकारका कारण पेश गर्नुपर्छ । दलित महिला सदस्यले १० प्रकारका कागजात बुझाउनुपर्छ । दलीय रुपमा उम्मेद्वारी दिने भए मनोनयनपत्र (टिकट) अनिवार्य गरिएको छ भने स्वतन्त्र उम्मेद्वारका लागि दलको पत्र आवश्यक पर्दैन । निर्वाचन आयोगले सार्वजनिक गरेको तालिका अनुसार, मनोनयन दर्तापछि उम्मेद्वारहरुको अन्तिम नामावली प्रकाशन नहुँदासम्मको कार्यतालिका यस्तो छ ।
प्रतिक्रिया दिनुहोस्