सामाजिक संघसंस्था संगठित नागरिक हुन् – मन्त्री गहतराज

काठमाडौं ।

युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज ‘अथक’ ले सामाजिक संघसंस्थाहरु संगठित नागरिक भएको बताएका छन् । उनले संघसंस्थाहरुले अहिलेसम्म खेल्दै आएको भूमिकाको कदर गरेका छन् ।

फोकस नेपालद्धारा शनिबार काठमाडौंमा आयोजित नयाँ वर्ष २०७८ तथा लोकतन्त्र दिवसको अवसरमा ‘समुन्नत नेपाल निर्माणमा सामाजिक संघसंस्थाहरुको भूमिका’ विषयक विचार गोष्ठी सम्मान तथा सांस्कृतिक कार्यक्रममा विशिष्ठ अतिथि रहेका उनले समाजसेवामा लागेर देशको विकासमा योगदान गर्न सबैलाई आग्रह गरे ।

उनले पटक पटक भएका राजनीतिक आन्दोलनमा सामाजिक संघसंस्थाले अग्रणी भूमिका खेलेको पनि बताए । संविधानले सबैको हक र अधिकारको सम्मान गरेकाले सबैमा आशावादी भएर आफ्नो दायित्व पूरा गर्नसमेत उनले आग्रह गरे ।

उनले राजनीतिक व्यवस्था बदलिए पनि अवस्था नबदलिएकोमा चिन्ता जनाए । उनले अब अवस्था पनि बदल्ने गरी काम गर्ने पनि जनाए । उनले युवा र व्यवसायीले केही गर्नुपर्छ भन्ने सोच्ने हो भन्ने देशको विकास हुन केही समय नलाग्ने बताए । ‘हामीसँग प्रशस्तै सम्भावना भएकाले युवा र व्यवसायीलाई उत्साहित भएर आफ्नो काममा लाग्न आग्रह गर्दछु’ उनले भने । मन्त्री गहतराजले नयाँ वर्षको शुभकामना दिँदै यो वर्ष निर्वाचनको वर्ष भएकाले नागरिकलाई सचेत र जिम्मेवार भएर मतदान गर्नसमेत आग्रह गरे ।

फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष रामप्रसाद न्यौपानेलगायतका विशिष्ठ अतिथि रहेका थिए । संस्थाका अध्यक्ष पोखरेलले नयाँ वर्षले सबैमा खुशी र शान्ति ल्याओस् भन्ने शुभकामना दिए । उनले असहज अवस्थाबाट निकास दिन पनि नयाँ वर्ष फलदायी होस् भन्ने कामना गरे । कार्यक्रममा सांस्कृतिक कार्यक्रमसमेत प्रदर्शन गरिएको थियो । केहीलाई संस्थाले मायाको चिनो पनि प्रदान गरेको थियो ।